
बाँकेको बढैयाताल गाउँपालिका–२ फुटाह क्षेत्रबाट लागुऔषध ब्राउन सुगरसहित दुई जना युवालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका–७ का २० वर्षीय गंगासागर थारु र वडा नं. ५ का २६ वर्षीय दिपेन्द्रकुमार थारु रहेका छन्।
प्रहरीका अनुसार शनिबार दिउँसो भारतको बलैई गाउँ बजारबाट नेपालतर्फ आइरहेका दुवै जनालाई शंका लागेपछि नियन्त्रणमा लिइएको थियो। जाँच गर्दा कालो प्लास्टिकमा राखिएको ३ ग्राम ३२० मिलिग्राम खैरो रङको धुलो पदार्थ (ब्राउन सुगर जस्तो देखिने) फेला परेको प्रहरीको भनाइ छ।
दुवैलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय मैनापोखरमा राखिएको छ। बाँके प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर डमरपालका अनुसार, आइतबार अदालतबाट ५ दिनको म्याद थप गराई अनुसन्धान अगाडि बढाइएको छ।
प्रहरीले सीमावर्ती क्षेत्रमा लागुऔषध ओसारपसार नियन्त्रणका लागि निगरानी अझ कडा बनाएको जनाएको छ।