
पछिल्ला ६ दिनदेखि दाउन्ने खण्डमा हिलाम्मे सडकका कारण रोकिएका करिब १,८०० सवारी साधनहरूलाई गन्तव्यतर्फ पठाइएको छ। शुक्रबारदेखि सडक मर्मतसँगै जाममा परेका सवारी साधन हटाउने कार्य सुरु गरिएको थियो।
दाउन्ने सडक खण्डमा ग्राभेल हाल्ने क्रममा बाटोमा ठूलो मात्रामा हिलो भएपछि मालवाहक ट्रकदेखि सामान्य गाडीहरू समेत बाटोमै अलपत्र परेका थिए। प्रहरी उपरीक्षक यादव ढकालका अनुसार राजमार्ग सुधारका लागि दाउन्ने क्षेत्रमा सडक खाली गराइएको थियो।
ढकालका अनुसार, बर्दघाटदेखि दुम्कीबास बजार र होङ्सी सिमेन्ट कारखाना गेटसम्म दुई दिन लगाएर सवारी हटाइएको हो। सडकको अत्यन्तै कमजोर अवस्था रहेकाले प्रहरीको सुरक्षामा एक लाइनमा गाडीहरू पार्क गराएर हटाउने काम गरिएको जानकारी उनले दिएका छन्।
विशेषतः दुम्कीबास बजारदेखि करिब ४ किलोमिटर पश्चिममा रहेको विश्वकर्मा मन्दिर छेउमा हिलोका कारण सवारी बिस्तारै फस्दै गएपछि सडक ६ दिनदेखि अवरुद्ध भएको हो। त्यस क्षेत्रको उकालो चिप्लो सडकमा वर्षातको सामान्य प्रभावले पनि सवारी चल्न गाह्रो हुने देखिएको छ।
आइतबार मात्रै ३० वटा टिपर ग्राभेल हालिएको प्रहरीले जनाएको छ, र कुल ५ सय टिपर ग्राभेल आवश्यक पर्ने योजना रहेको निर्देशनालयले जानकारी दिएको छ। सडक सम्याउने काम सकिएपछि अबको केही दिनमै सवारी आवागमन सहज हुने आशा गरिएको छ।
भारतीय नम्बर प्लेट भएका ४० वटा मालवाहक ट्रकहरू पनि बर्दघाटतर्फ पठाउने प्रयास भइरहेको प्रहरी स्रोतले जनाएको छ।