
झापाको भद्रपुरमा लागुऔषध ब्राउन सुगरसहित दुई जना युवायुवती पक्राउ परेका छन्। भद्रपुर नगरपालिका–५ स्थित भन्सार चोकमा भारतबाट नेपालतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०३० च ७७९३ नम्बरको कार जाँच गर्ने क्रममा लागुऔषधसहित उनीहरू पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२६ का २४ वर्षीय निवेश कुँवर र लमजुङको कालासोतार गाउँपालिका–७ की २२ वर्षीया नोजिना राना मगर रहेका छन्। झापा प्रहरीले दिएको जानकारी अनुसार, कारको अगाडिको सिटमा लुकाएर ल्याइएको अवस्थामा ४७ दशमलव ६९० ग्राम ब्राउन सुगर फेला परेको हो।
झापा प्रहरी प्रवक्ता खगेन्द्रबहादुर खड्काले भने, “उनीहरूलाई पहिले पनि सीमावर्ती क्षेत्रमा देखिएको थियो। प्रहरीको नजरमा शंकास्पद थिए। यसपटक गाडी लिएर आएका थिए, शंका लागेपछि चेकजाँच गर्दा लागुऔषध भेटियो।”
पक्राउ परेका दुवैजनालाई नियन्त्रणमा लिई जिल्ला अदालत झापाबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पूर्वी सीमावर्ती क्षेत्रहरूमा पछिल्लो समय लागुऔषध ओसारपसारको गतिविधि तीव्र रुपमा बढेको छ। प्रहरीले दैनिकजसो लागुऔषध कारोबारी पक्राउ गर्दै सार्वजनिक गरिरहेको छ।