
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा अघि सारिएको युद्धविरामको प्रस्तावमा इजरायलले आधिकारिक रुपमा सहमति जनाएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले एक विज्ञप्ति जारी गर्दै युद्धविराम प्रस्ताव स्वीकारेको पुष्टि गरेका हुन्।
नेतन्याहुको विज्ञप्ति अमेरिकी राष्ट्रपति ट्रम्पले युद्धविराम लागू भएको र दुबै पक्षलाई यसको उल्लंघन नगर्न अनुरोध गरेपछि आएको हो।
यो घटनाक्रम इराकबाट कतारस्थित अमेरिकी बेसक्याम्पमा भएको आक्रमणपछि तीव्र गतिमा विकसित भएको बताइएको छ। बिबिसीका अनुसार, इजरायली सरकारले जारी गरेको वक्तव्यमा भनिएको छ, “यदि युद्धविरामको उल्लंघन भयो भने इजरायलले त्यसको कडा जवाफ दिनेछ।”
युद्धविरामको घोषणा भएलगत्तै इरानका विदेशमन्त्री अब्बास अरागचीले प्रतिक्रिया दिएका छन्। उनले भने, “अहिलेसम्म कुनै पनि आधिकारिक सम्झौता भएको छैन। तर यदि इजरायलले इरानविरुद्ध आक्रमण रोकेको खण्डमा हामी पनि जवाफी कारबाही गर्दैनौं।”
युद्धविराम सुरु हुनु अघि इरानको सरकारी मिडियाले अन्तिम मिसाइल आक्रमण इजरायलमा गरिएको जनाएको छ। उक्त आक्रमणमा परी ४ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्।
क्षेत्रीय तनावबीच आएको यो युद्धविराम सहमतिलाई अन्तर्राष्ट्रिय समुदायले स्वागत गरेको छ। अब विश्वको ध्यान दुबै पक्षले सहमतिको सम्मान गर्छन् कि गर्दैनन् भन्नेमा केन्द्रित भएको छ।