
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारले भिजिट भिसा प्रकरणमा छानबिन गर्न बनाएको समितिको कडा विरोध जनाएको छ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले यो समिति अपराध ढाकछोप गर्ने नयाँ प्रोपोगाण्डा भएको आरोप लगाए।
उनले विगत १८ वर्षको अवधिमा १४ जना गृहमन्त्री भइसकेको उल्लेख गर्दै ती सबैलाई अनुसन्धानको दायरामा ल्याइनु पर्नेमा प्रश्न उठाए। उनले भने, “दूधको साक्षी बिरालो राखेर समस्याको समाधान हुँदैन। जसमाथि छानबिन हुनुपर्ने हो, त्यही व्यक्तिहरूले कर्मचारी राखेर बनाएको समिति विधिको शासनको उदाहरण हुन सक्दैन।”
शाहीले समितिको उद्देश्य नै दोषीहरूलाई उन्मुक्ति दिने र जनताको ध्यान अन्तै मोड्ने भएको दाबी गरे। “यो समिति निष्पक्ष होइन, यो त भिजिट भिसा प्रकरणमा संलग्न गृहमन्त्रीहरूलाई जोगाउने अभियान हो,” उनले भने।
राप्रपाले यस्तो छानबिन समितिविरुद्ध सदन र सडक दुवै ठाउँबाट आवाज उठाउने चेतावनी दिएको छ। शाहीले मानव बेचबिखन जस्तो गम्भीर मुद्दालाई संख्याको आधारमा कमजोर पार्न नहुने पनि बताए।