
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घरेलु श्रमिकलाई न्यूनतम ज्याला सुनिश्चित गर्न कानुन बनाउने प्रतिबद्धता जनाएका छन्।
ललितपुरमा आयोजित ‘घरेलु श्रम र अनौपचारिक स्याहार कार्य’ विषयक राष्ट्रिय नीति संवादमा बोल्दै दाहालले संविधानको भावना अनुसार श्रमिकको हकको संरक्षण गर्न ढिला भएको स्वीकार गर्दै अब घरेलु श्रमिकलाई पनि न्यूनतम ज्यालामा ल्याउने पहल गर्ने बताएका हुन्।
“संविधानले दिएको अधिकार अनुसार श्रमिकको न्यूनतम ज्यालामा घरेलु श्रमिकहरू पनि पर्नुपर्छ,” दाहालले भने, “श्रमिकको जीवनमा सुधार ल्याउन नसके परिवर्तनको औचित्य हराउनेछ।”
उनले आफू श्रमिकको समर्थनकै कारण प्रधानमन्त्री बन्न सफल भएको उल्लेख गर्दै अब कानुनी रूपमै घरेलु श्रमिकको सम्मानजनक जीवन सुनिश्चित गर्न प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरे।
कार्यक्रममा सांसद रमा कोइरालाले आफुले ट्रेड युनियनबाट प्रतिनिधित्व गर्दै श्रमिकको पक्षमा आवाज उठाइरहेको बताइन्। उनले सरकारले देशको श्रम बजार र सम्भावित रोजगारी चिन्न नसकेको गुनासो गरिन्।
राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले पनि घरेलु श्रमिकका लागि प्रभावकारी कानुन आवश्यक रहेको बताए।
कार्यक्रम आयोजक युवालय संस्थाका अध्यक्ष धर्मराज रिमालले युवाको नेतृत्वमा सञ्चालित संस्थाले घरेलु तथा स्याहार क्षेत्रका श्रमिकको हकमा स्थानीय, प्रदेश र संघीय स्तरमा वकालत गरिरहेको जानकारी गराए।
उनले घरेलु श्रमलाई सामाजिक मान्यता दिलाएर यसलाई सम्मानजनक पेशा बनाउन अभियान सञ्चालन भइरहेको बताए।