
जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनार विवादमा मुछिएका छन्। उनले आफ्नै नगरपालिकाका इन्जिनियर सन्जु गुन्जन ठाकुरमाथि हातपात गरेका छन्।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयकुमार साहको कार्यकक्षमा सोमबार दिउँसो करिब ४ बजे इन्जिनियर ठाकुरमाथि गालीगलौज र हातपात भएको हो। घटनाको पुष्टि कर्मचारीहरूले गरेका छन्।
इन्जिनियर ठाकुरले मेयर सोनारविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी पनि दर्ता गरेका छन्। उनले बताएका छन्, “सीसीटीभी क्यामेराको मूल्याङ्कन १० लाख रुपैयाँ मात्रै हुँदाहुँदै पनि १८ लाख मूल्यांकन गर्न दबाब दिइएको थियो। जब मैले त्यसमा असहमति जनाएँ, त्यसपछि हातपात गरियो।”
उनका अनुसार विद्यालयमा जडान गरिएका क्यामेरा राम्रा भए पनि शहर क्षेत्रमा प्रयोग गरिएका क्यामेरा गुणस्तरहीन रहेकाले आपूर्तिकर्ताले पहिलोपटक नै ती फेरेका थिए।
त्यस्तै, फ्लड लाइटको मूल्याङ्कनमा पनि त्रुटि रहेको र त्यसैलाई लिएर मेयरले बारम्बार धम्की दिने गरेको इन्जिनियर ठाकुरले आरोप लगाए।
प्रमुख प्रशासकीय अधिकृत जयकुमार साहले पनि घटना कार्यकक्षमै भएको पुष्टि गर्दै विवाद समाधानको पहल भइरहेको जानकारी दिए।
तर मेयर सुरेश साह सोनारले भने आफूले हातपात नगरेको दाबी गरेका छन्। “समयमा काम नगरेपछि भुक्तानीमा समस्या भएको र सामान्य भनाभन मात्रै भएको हो। बाहिर जस्तो प्रचार गरिएको छ, त्यस्तो केही भएको होइन,” उनले प्रतिक्रिया दिए।