Join our Channel

गौरको बीपी चोकमा लागूऔषधसहित युवा पक्राउ, बस कर्मचारी पनि संलग्न

गौरको बीपी चोकमा लागूऔषधसहित युवा पक्राउ, बस कर्मचारी पनि संलग्न

रौतहटको गौर नगरपालिका–३ स्थित बीपी चोकबाट लागूऔषधसहित एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ।
भारतबाट नेपालतर्फ आइरहेको ना. १ ह. ७८९३ नम्बरको ई–रिक्सा बीपी चोकमा रोक्केर चेकजाँच गर्दा चन्द्रपुर नगरपालिका–४ का २७ वर्षीय चालक अजय विक पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार, अजय विकको साथबाट फेनेरागन इन्जेक्सन ११० एम्पुल, बुप्रेनोर्फिन ११० एम्पुल, सेरेज्याक डाइजेपाम ६४ एम्पुल र डाइजेपाम ४६ एम्पुल बरामद गरिएको छ। ती सबै लागूऔषध ई–रिक्साको प्लास्टिक भित्र हर्लिक्स लेखिएको निलो डब्बामा लुकाएर ल्याइएको थियो।

जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी दीपककुमार रायका अनुसार, मंगलबार दिउँसो पक्राउ परेका विकलाई बुधबार सार्वजनिक गरिएको हो।

पक्राउ परेका अजय विकले प्रारम्भिक बयानमा, “गौर–पोखरा चल्ने बसका कर्मचारीले भारतको बैरगनियाबाट लागूऔषध ल्याउन दिएको हो,” भनेर बताएका छन्। प्रहरीले उनको बयानका आधारमा बसका कर्मचारीलाई पनि पक्राउ गरेको छ। हाल कर्मचारीको नाम गोप्य राखिएको छ।

प्रहरी स्रोतका अनुसार बस कर्मचारीविरुद्ध पनि लागूऔषध मुद्दा दर्ता गरिने तयारी भइरहेको छ।
युवक विकसँगै प्रयोग भएको मोबाइल पनि प्रहरीले नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानमा विकले आफू निर्दोष भएको र बसका कर्मचारीले फसाएको दाबी गरेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a comment