
माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा एक साताभित्र सार्वजनिक गर्ने अन्तिम तयारी भइरहेको छ। राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत सानोठीमीस्थित परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक गणेशप्रसाद भट्टराईका अनुसार, हाल उत्तरपुस्तिकाको परीक्षण कार्य सम्पन्न भइसकेको र प्राप्तांक इन्ट्री तथा रुजु गर्ने कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ।
‘असारको तेस्रो साताभित्र नतिजा प्रकाशन गर्ने लक्ष्य राखिएको छ,’ भट्टराईले जानकारी दिए। उनका अनुसार, कर्मचारीहरू डबल सिफ्टमा दिनरात काम गरिरहेका छन्। प्रविधिले साथ दिएमा नतिजा यसै साताभित्र सार्बजनिक हुने सम्भावना पनि देखिएको छ।
यसअघि असार ६ गतेभित्र नतिजा सार्वजनिक गर्ने कार्यतालिका तयार पारिएको थियो। तर, चैत २० देखि वैशाख १७ सम्म शिक्षक आन्दोलनका कारण कार्य तालिकामा ढिलाइ आएको हो।
एसईई परीक्षा २०८१ सालको चैत ७ देखि १९ गतेसम्म सञ्चालन भएको थियो। यसपटक करिब ५ लाख १० हजार विद्यार्थी परीक्षामा सहभागी भएका थिए।