
पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल पतञ्जलि योगपीठको जग्गा हिनामिना प्रकरणमा विशेष अदालतबाट धरौटीमा रिहा भएका छन्। अदालतले तोकेको ३५ लाख रुपैयाँ धरौटी रकम बुझाएर उनी बुधबार राति रिहा भएका हुन्।
विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो।
बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दामा थुनछेक बहस भएको थियो। अध्यक्ष नेपाल अदालतमा उपस्थित भएपछि दिउँसोदेखि उनको बयान लिइएको थियो। अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार नेपालका पक्षबाट ५ जना र सरकारी पक्षबाट पनि ५ जना वकिलले बहस गरेका थिए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि योगपीठको हदबन्दी छुटका नाममा जग्गा अनियमितता गरेको आरोपमा माधव नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। आरोपपत्रमा नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बराबरको बिगो माग गरिएको छ।
पूर्वप्रधानमन्त्री नेपालले पतञ्जलि योगपीठलाई सरकारी हदबन्दीभित्रको जग्गा छुट दिने निर्णयमार्फत अनियमितता गरेको आरोप छ, जुन प्रकरण अहिले अदालतमा छानबिनको क्रममा छ।