
नेपाल विद्यार्थी संघ (नेविसंघ) ले नेपालमा विदेशी सम्बन्धनको नाममा सञ्चालन भइरहेका कलेजहरूको गतिविधिमा छानबिन गरी कारबाही गर्न माग गरेको छ।
बुधबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलाई ज्ञापनपत्र बुझाउँदै नेविसंघका केन्द्रीय सदस्य भूपेन्द्रसिंह थेबे नेतृत्वको टोलीले यस्ता कलेजहरू विदेशी नामको आडमा ठगी गरिरहेको आरोप लगाएको छ।
नेविसंघले विदेशी सम्बन्धन प्राप्त गरे पनि स्तरहीन, शंकास्पद र अन्तर्राष्ट्रिय स्तरमा मान्यता नभएका विश्वविद्यालयहरूबाट सम्बन्धन लिई नेपालमा अव्यवस्थित रूपमा कलेजहरू सञ्चालन भइरहेका बताएका छन्।
ज्ञापनपत्रमा उल्लेख गरिएअनुसार, “विदेशी सम्बन्धनको नाममा नेपालका कलेजहरूले विद्यार्थी तथा अभिभावकमाथि आर्थिक शोषण गरिरहेका छन्। सरकार स्वयंले यस्ता शैक्षिक लुट र बौद्धिक उपनिवेशीकरणलाई संरक्षण गरिरहेको देखिन्छ।”
संघको दाबी छ– नेपालका गौरवशाली विश्वविद्यालयहरूलाई कमजोर बनाउने प्रयास भइरहेको छ भने विदेशी कलेजहरूलाई उचाल्ने रणनीति चलिरहेको छ। विद्यार्थीलाई अव्यवस्थित रूपमा भर्ना गरिने, मनपरी शुल्क लिइने, र त्यसबाट कमाएको पैसा वैदेशिक मुद्रामा पलायन हुने गरेको संघको आरोप छ।
संघले शिक्षा मन्त्रालयसँग यस्ता कलेजहरूको वैधानिकता, आर्थिक कारोबार तथा शैक्षिक गुणस्तरमाथि छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्न माग गरेको छ।
त्यस्तै, शंकास्पद अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूसँग सम्बन्धन लिएका कलेजहरूलाई कालोसूचीमा राखी सम्बन्धन खारेज गर्न र यथाशीघ्र नयाँ शिक्षा ऐन ल्याउन पनि संघले जोड दिएको छ।