
नेपाल–भारत सीमास्थित वीरगन्ज नाकाको हेल्थ डेस्कमा असार महिनादेखि दुई जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ। वीरगन्ज महानगरपालिका स्वास्थ्य महाशाखाका अधिकृत सुमनचन्द्र ठाकुरका अनुसार, संक्रमित दुवै जना पुरुष हुन्, जो भारतको बिहार राज्यको मोतीहारी र छौडादानोबाट नेपाल प्रवेश गर्न लागेका थिए।
“दुवै जना भारतीय पुरुष कोरोना पोजिटिभ देखिए,” ठाकुरले जानकारी दिए, “मोतीहारीबाट आएका व्यक्ति जन्तीमा सहभागी भएर आएका थिए भने छौडादानोका व्यक्ति रोजगारीका लागि बर्दिबास जाँदै थिए।” संक्रमितलाई नेपाल प्रवेश गर्न नदिइ उनीहरूको देश भारत फर्काइएको पनि उनले बताए।
स्वास्थ्य डेस्कमा माघ २५ गतेपछि कोरोना परीक्षण किट नभएको बताइएको थियो। तर असार महिनाको पहिलो साता काठमाडौंस्थित सरुवा रोग महामारी नियन्त्रण महाशाखाबाट २० वटा परीक्षण किट प्राप्त भएको हो। ती किट रुघाखोकी, ज्वरो लगायत लक्षण देखिएका व्यक्तिमाथि मात्र प्रयोग गरिने निर्देशनसहित प्रयोग गरिएको थियो।
भारतमा कोरोना संक्रमण पुनः तीव्ररूपमा फैलिन थालेको सन्दर्भमा, सीमित किट र जनशक्ति भएको प्रमुख स्थल वीरगन्ज नाकामा संक्रमण नेपाल प्रवेश गर्ने जोखिम अत्यधिक रहेको जनाइएको छ। झण्डै तीन वर्षपछि यहाँ कोरोना संक्रमित भेटिएको हो, त्यो पनि १६ महिनापछि परीक्षण सुरु भएपछि।
कोरोनाको अघिल्लो लहरहरूमा पनि भारतबाट मजदुरी, व्यवसाय, पर्यटक तथा तीर्थयात्राको लागि नेपाल प्रवेश गर्नेहरूमा संक्रमण देखिन्थ्यो। भारतमा हाल देखिएको कोरोनाको पाँचौं लहर नेपालमा पनि फैलिन सक्ने स्वास्थ्य विज्ञहरूको अनुमान छ।
विशेषगरी भारतको रक्सौलबाट दिल्ली, कोलकाता, मुम्बई, बनारसजस्ता सहरसँग सीधा रेल सम्पर्क भएकाले वीरगन्ज नाका संक्रमणको प्रमुख प्रवेशद्वार बन्ने चिन्ता व्यक्त गरिएको छ। आगामी साउन महिनामा कोलकाता र उडिसाबाट पशुपतिनाथ दर्शन गर्न आउने तीर्थालुको संख्या बढ्ने भएकाले स्वास्थ्य सुरक्षामा अझ कडाइ गर्न आवश्यक देखिएको छ।