Join our Channel

वीरगन्जका भन्सार कार्यालयहरू राजस्व लक्ष्यमा चुक्ने सम्भावना, किन घट्यो वस्तुको आयात?

वीरगन्जका भन्सार कार्यालयहरू राजस्व लक्ष्यमा चुक्ने सम्भावना, किन घट्यो वस्तुको आयात?

चालु आर्थिक वर्षको अन्त्यतिर जाँदा वीरगन्जका दुई प्रमुख भन्सार कार्यालयहरूले सरकारद्वारा तोकिएको वार्षिक राजस्व असुली लक्ष्य पुरा गर्न नसक्ने संकेत देखिएको छ।

वीरगन्ज मुख्य भन्सार र सिर्सिया सुक्खा बन्दरगाह भन्सारले आर्थिक वर्ष २०८०/८१ को जेठ महिनासम्म ८० प्रतिशत हाराहारी मात्र राजस्व संकलन गरेका छन्, जुन लक्ष्यभन्दा निकै कम हो।

वीरगन्ज भन्सार कार्यालयले यस आर्थिक वर्षका लागि रु १ खर्ब ९९ अर्ब ३४ करोड ९९ लाख राजस्व असुली लक्ष्य पाएकोमा हालसम्म रु १ खर्ब ५८ अर्ब ८२ करोड ७२ लाख मात्रै संकलन भएको छ। यो कुल लक्ष्यको केवल ७९ प्रतिशत मात्र हो।

त्यसैगरी, सिर्सिया सुक्खा बन्दरगाह भन्सारले रु ५४ अर्ब ८५ करोड ७० लाख को लक्ष्यमा ४८ अर्ब ६१ करोड ६८ लाख मात्र संकलन गरेको छ, जुन ८३.१६ प्रतिशत हो। वार्षिक लक्ष्य ६० अर्ब ४ करोड भए तापनि हालसम्म ७५.९७ प्रतिशत मात्र राजस्व संकलन भएको देखिन्छ।

कारण के हो त लक्ष्य नपुग्नुको?
वीरगन्ज भन्सारका सूचना अधिकारी अमित तिवारी भन्छन्, “यस वर्ष राजस्व असुलीको लक्ष्य निकै ठूलो छ। कच्चा पदार्थ र पेट्रोलियमको आयात ठिकै भए पनि तयारी वस्तु—जुन राजस्वमा सबैभन्दा बढी योगदान दिन्छ—त्यसको आयात घटेकाले लक्ष्य पुरा गर्न गाह्रो भएको हो।”

सिर्सिया भन्सार प्रमुख धनबहादुर बरुवालका अनुसार, “पछिल्लो वर्षभन्दा यसवर्ष राजस्व संकलन राम्रो भए पनि उच्च लक्ष्यका कारण पूर्ण असुली असम्भव देखिन्छ।”

राजस्व संकलन घट्नुको असर
यी दुई भन्सार कार्यालय मुलुककै प्रमुख राजस्वदातामध्ये पर्छन्। वीरगन्ज भन्सारबाट मुख्यतया सवारी साधन र इन्धन आयात हुन्छ भने सिर्सिया सुक्खा बन्दरगाहबाट फलामजन्य सामग्री र मदिरा। यी वस्तुको आयातमा आएको गिरावटले राजस्व संकलनमा समेत प्रत्यक्ष असर पारेको हो।

Leave a comment