
समूह चरणको अन्तिम खेलमा म्यानचेस्टर सिटीले युभेन्ट्सलाई ५–२ गोल अन्तरले हराउँदै प्रतियोगिताको लिग चरण अपराजित टिमको रुपमा समाप्त गरेको छ।
सिटी र युभेन्ट्स दुवै टोली यसअघि नै नकआउट चरणमा पुगिसकेका थिए। तर, अन्तिम खेलमा म्यानचेस्टर सिटीको प्रदर्शन निकै प्रभावशाली रह्यो।
सिटीका लागि जेरेमी डोकु, इर्लिङ हालान्ड, फिल फोडेन र साभिओले एक-एक गोल गरे भने युभेन्ट्सका एक खेलाडीको आत्मघाती गोल पनि सिटीका लागि योगदान बन्यो।
युभेन्ट्सका तर्फबाट टेउन कुपमेनर्स र डुसान भ्लाहोभिचले एक–एक गोल गरे तापनि टोलीले हारको सामना गर्नु पर्यो।
यो जितसँगै म्यानचेस्टर सिटी समूह चरणका तीनै खेल जित्ने एकमात्र टिम बनेको छ र उसले कुल ९ अंक जोडेको छ। युभेन्ट्स भने ६ अंकमै सिमित रह्यो।
यही चरणको अर्को खेलमा अल एइनले वायडाड क्यासाब्लान्कालाई २–१ ले हराउँदै सान्त्वना जित हात पारेको थियो। यी दुबै टिमको भने यसअघि नै प्रतियोगिताबाट यात्रा समाप्त भइसकेको थियो।