
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल र चीनबीच २२० केभी क्षमताको रसुवागढी–चिलिमे–जिलोङ–केरुङ विद्युत् प्रसारण लाइन निर्माणको तयारी भइरहेको बताएका छन्।
चीनको निङ्पो शहरमा सम्पन्न पाँचौं साङ्हाई सहयोग संगठन (SCO) को ऊर्जामन्त्रीस्तरीय बैठकमा भाग लिँदै मन्त्री खड्काले नेपालले भारत र बंगलादेशसँग विद्युत् व्यापार अगाडि बढाइसकेको र अब चीनसँग पनि प्रसारण लाइनमार्फत ऊर्जा सहकार्य बढाउन लागेको जानकारी दिए।
“भारत र बंगलादेशसँग विद्युत् निर्यातको सम्झौता भइसकेको छ। अब चीनसँग प्रसारण लाइन निर्माणको तयारी भइरहेछ,” मन्त्री खड्काले बैठकमा भने।
भारत–बंगलादेश हुँदै विद्युत् निर्यात
उनका अनुसार हाल नेपालले ढल्केवर–मुजफ्फरपुर ४०० केभी लाइन मार्फत भारतसँग व्यापार गरिरहेको छ। भारतको माध्यमबाट बंगलादेशलाई पनि विद्युत् निर्यात गर्नेसम्मको व्यवस्था भइसकेको छ।
ऊर्जा आजको आवश्यकता, भविष्यको आधार
ऊर्जा सुरक्षालाई “आजको लागि विकल्प होइन, जीवनको अक्सिजन हो” भन्दै मन्त्री खड्काले क्षेत्रीय सहकार्य, लगानी र नीतिगत नवप्रवर्तनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।
नेपालले पछिल्लो ५ वर्षमा विद्युत् उत्पादन दोब्बर बनाएको, ९९% जनतालाई विद्युत् पहुँचमा ल्याएको र ९५% भन्दा बढी उत्पादन नवीकरणीय स्रोतबाट भइरहेको जानकारी उनले दिए।
२०३५ सम्म २८,५०० मेगावाट विद्युत् उत्पादन लक्ष्य
मन्त्री खड्काले नेपालले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने र १५ हजार मेगावाट निर्यात गर्ने लक्ष्य राखेको बताए। साथै २०४५ सम्म शून्य कार्बन उत्सर्जन, स्वच्छ ऊर्जा र विद्युतीय यातायात तथा उद्योग प्रणाली निर्माण गर्ने प्रतिबद्धता पनि जनाए।
एससीओ ऊर्जा बैठकमा २५ परियोजनामा हस्ताक्षर
“इन्टिग्रेट इनोभेसन फर इनर्जी फ्युचर” विषयक सत्रमा सम्बोधन गर्दै मन्त्री खड्काले ग्रिड कनेक्टिभिटी, ऊर्जा सुरक्षाको प्रवर्द्धन र नवप्रवर्तनका पक्षमा एससीओ सदस्य राष्ट्रबीच सहकार्य आवश्यक रहेको बताए।
चीनको राष्ट्रिय ऊर्जा प्रशासन र चच्याङ प्रान्त सरकारको आयोजनामा बसेको बैठकमा विभिन्न देशले २५ वटा परियोजनामा हस्ताक्षर गरेका छन्। यो बैठक एससीओ अन्तर्गत ऊर्जा क्षेत्रमा अहिलेसम्मकै उच्चस्तरीय बैठक हो।