Join our Channel

दाउन्ने सडक फेरि बन्द: बिनयी खोलामा आएको बाढीले सवारी जोखिममा

दाउन्ने सडक फेरि बन्द: बिनयी खोलामा आएको बाढीले सवारी जोखिममा

लगातारको वर्षाले फेरि एकपटक महेन्द्र राजमार्गको दाउन्ने सडक खण्डमा सवारी आवागमन रोकिएको छ। बिहीबार साँझपख परेको पानीका कारण बिनयी खोलामा बाढी आएको र त्यही खोलाले सवारीसाधन जोखिममा पार्न सक्ने अवस्था देखिएपछि प्रहरीले बेलुका ७ बजेदेखि राजमार्गमा यातायात बन्द गराएको हो।

चितवन प्रहरीले जानकारी दिँदै भन्यो, “दाउन्ने क्षेत्रमा गाडी फस्ने खतरा छ, र बिनयी खोलामा जुनसुकै बेला बाढी आउन सक्छ भन्ने सम्भावना रहेकाले हामीले बेलुका ७ बजेदेखि सडक बन्द गरेका हौं।”

यसअघि सडक डिभिजन कार्यालय, भरतपुरले पाँच दिनअघि नै सूचना जारी गर्दै दाउन्ने सडक खण्डमा बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म मालबाहक र ठूला सवारीसाधन नचलाउने व्यवस्था मिलाएको थियो।

पानी नपरेको तीन दिनपछि, मंगलबार साँझदेखि बिहीबार साँझ ६ बजेसम्म राजमार्ग खुला गरिएको थियो र रोकिएका सवारीसाधन सुरक्षित रूपमा वारपार भएका थिए। यद्यपि फेरि पानी परेपछि बिनयी खोलाको जोखिम कायमै रहेकाले फेरि सडक बन्द गर्नु परेको हो।

स्मरणीय छ, पुस २६ गते दुम्कीवासस्थित बिनयी खोलाको फलामे पुल भाँचिएपछि सडकको केही उत्तरमा डाइभर्सन बनाएर सवारीसाधन चलाइएको थियो। तर, खोलाको मुहान रहेको पाल्पाको बाकामलांग क्षेत्रमा पानी परेपछि उक्त डाइभर्सन बगाउने समस्या दोहोरिएको छ।

Leave a comment