
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू अब राजनीतिबाट रिटायर्ड हुन लागेको बताएका छन्। तर रिटायर्ड हुनु अघि पार्टीलाई एक बनाएर अघि बढाउने आफ्नो दृढ चाहना रहेको देउवाले बताएका छन्।
कांग्रेस नेतृ तथा लोकतान्त्रिक आन्दोलनकी सिपाही गौरीदेवी प्रधानको श्रद्धाञ्जली सभामा बोल्दै सभापति देउवाले भने, “म राजनीतिबाट बिदा हुँदैछु। तर यो पार्टीलाई एक बनाएर जान चाहन्छु।”
पार्टीभित्रको अन्तर्घातले कमजोर बनाएको देउवाको गुनासो
सभापति देउवाले कांग्रेसमा अन्तर्घात गर्ने प्रवृत्तिले पार्टीलाई बहुमत ल्याउन नसक्ने अवस्थामा पुर्याएको उल्लेख गरे।
उनले भने, “टिकट एक जनाले पाउँछ, तर नपाउने चाहिँ हराउन लागि पर्छ। यही हो हाम्रो पार्टीको मुख्य रोग। यदि हामी एक भइ काम ग¥यौं भने, कांग्रेस एक्लैले पनि बहुमत ल्याउन सक्छ।”
समावेशी संविधान राम्रो, तर बहुमत गाह्रो
सभापति देउवाले नेपालको वर्तमान संविधानलाई समावेशी र समानुपातिक भएकोले राम्रो भने पनि, यस प्रणालीमा कुनै पनि पार्टीले सजिलै बहुमत ल्याउन नसक्ने तर्क गरे।
उनका अनुसार, “आज माओवादीसँग मिल्यौं, भोलि एमालेसँग मिल्नुपर्छ। यस्तो गठबन्धनको बाध्यता संविधानको कारणले हो। तर कांग्रेस एक भए बहुमत आउन सक्छ।”
बीपी कोइरालासँगको सम्बन्ध र प्रधान परिवारको योगदान
सभापति देउवाले दिवंगत नेतृ गौरीदेवी प्रधान र उनका पति श्यामकृष्ण प्रधानको योगदानको समेत चर्चा गरे।
“बीपी कोइरालाले उहाँहरूको घरमै बसेर रणनीति बनाउनु हुन्थ्यो। म आफैं पनि धेरैपटक बीपीसँग प्रधान निवासमा पुगेको छु,” देउवाले स्मरण गरे।
गौरीदेवी प्रधान २००६ सालदेखि कांग्रेस राजनीतिमा सक्रिय थिइन् र विगत शनिबार उहाँको निधन भएको थियो।