
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भोलि (शनिबार) काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित ‘मदन भण्डारी स्मृति दिवस’ कार्यक्रममा सक्रिय राजनीतिमा फर्किने घोषणा गर्ने तयारीमा छन्। मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको यस कार्यक्रममा नेकपा (एमाले) का स्थायी समिति सदस्य कर्ण बहादुर थापाका अनुसार भण्डारीले पार्टी नेतृत्वमा स्पष्ट राजनीतिक सन्देश दिनेछिन्।
थापाले भने, “भोलि उहाँले कुनै दुविधा नराखी स्पष्ट रुपमा आफ्नो राजनीतिक भूमिका सार्वजनिक गर्नुहुनेछ। उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरी आवश्यक कुरा मिलाइसक्नु भएको छ।”
भण्डारीको सक्रिय राजनीतिमा फर्किनु मात्रै होइन, उनी पार्टी नेतृत्वसम्म पुग्ने सम्भावनाले एमाले भित्र चर्चा छ। राष्ट्रपतिको पदबाट हटेपछि उनी राजनीतिक रूपमा अझ सक्रिय भएकी छन्।
भण्डारीले चीन भ्रमण समेत गरेकी छन् जहाँ उनीले कम्युनिष्ट एकता र नेतृत्वका लागि सकारात्मक सन्देश लिएर फर्किएको बताइन्छ। यस पृष्ठभूमिमा मदन भण्डारी स्मृति दिवसको यो कार्यक्रमलाई निकै महत्त्वपूर्ण र अर्थपूर्ण मानिएको छ।
असार ५ गते एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा पनि भण्डारीले पार्टी नेतृत्वमा सहयोगको आग्रह गरिसकेकी छन्। ओलीले भने नेतृत्वका बारेमा स्पष्ट जवाफ नदिए पनि आफू युवा भएको र अझै २० वर्ष नेतृत्वमा रहन सक्ने अभिव्यक्ति दिएका छन्।