
गोरखाका किसानहरूले यस वर्ष लिची बिक्रीबाट रु ११ करोड १५ लाख आम्दानी गरेका छन्। गत वर्षको तुलनामा करिब एक करोड १५ लाख रुपैयाँले आम्दानी बढेको कृषि ज्ञान केन्द्र गोरखाका प्रमुख प्रकाश बस्ताकोटीले जानकारी दिएका छन्।
प्रमुख बस्ताकोटीका अनुसार, “गत वर्ष गोरखामा करिब १० करोड रुपैयाँ बराबरको लिची बिक्री भएको थियो। तर यस वर्ष मौसम अनुकूल हुनुका साथै बगैँचाको राम्रो व्यवस्थापनका कारण उत्पादन वृद्धि भई आम्दानी पनि बढेको हो।”
उनका अनुसार किसानहरूले समयमै औषधि छर्ने, मलजल र सिँचाइको राम्रो व्यवस्थापन गरेकाले उत्पादनमा सकारात्मक असर परेको हो।
यो वर्ष गोरखामा कुल १ हजार ७१६ मेट्रिक टन लिची उत्पादन भएको छ। गत वर्षको उत्पादन १ हजार ५९७ मेट्रिक टन थियो। यस्तै, अघिल्लो वर्ष १८० हेक्टरमा लिचीखेती गरिएकोमा यसपटक १८७ हेक्टरमा लिची उत्पादन गरिएको छ।
कृषि ज्ञान केन्द्रका अनुसार प्रतिकेजी रु ६५ को दरले बिक्री भएको लिचीले किसानलाई मनग्य आम्दानी दिलाएको हो।
गोरखाको पालुङटार नगरपालिका लिची खेतीको प्रमुख पकेट क्षेत्रका रूपमा विकास भएको छ। पालुङटारको वडा नम्बर ६, ७ र ८ बाट मात्रै करिब ८० प्रतिशत लिची उत्पादन हुने गरेको छ। ती वडाहरूमा करिब ३० हजार लिचीका बोट रहेका छन् भने १५० हेक्टर क्षेत्रफलमा लिची खेती गरिएको छ।