
नेपालमा सुनको मूल्य एक साताभित्र प्रतितोला ५ हजार ८ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव किरणभाइ बज्राचार्यका अनुसार, गत आइतबार सुनको मूल्य तोलामा १ लाख ९५ हजार २ सय रुपैयाँ थियो भने शुक्रबारसम्म आइपुग्दा घटेर १ लाख ८९ हजार ४ सय रुपैयाँ कायम भएको छ।
सुनको मूल्यमा आएको गिरावट केवल नेपालमै होइन, विश्वबजारमै पनि देखिएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार, गत बिहीबार मात्रै अमेरिकामा सुनको मूल्य २ प्रतिशतले घटेको हो। विश्लेषकहरूका अनुसार अमेरिका–चीन व्यापार सम्झौता भएपछि जोखिम कम हुने संकेत देखिएसँगै सुनको आकर्षण घटेको हो।
पहिले अमेरिका–चीनबीचको व्यापार तनावले गर्दा लगानीकर्ताले सुरक्षित सम्पत्तिको रूपमा सुन रोजेका थिए। तर सम्झौतापछि अब लगानीकर्ता जोखिमपूर्ण सम्पत्तितर्फ आकर्षित भएका छन्। बिहीबार स्थानीय समयअनुसार २ बजे स्पट गोल्डको मूल्य १.५ प्रतिशतले घटेर ३,२७७.१७ अमेरिकी डलरमा झरेको थियो। यस्तै, यूएस गोल्ड फ्युचर्स पनि १.८ प्रतिशतले घटेर ३,२८७.६ डलरमा कारोबार भएको थियो।
आरजेओ फ्युचर्सका वरिष्ठ रणनीतिकार डेनियल पाभलियनका अनुसार, चीनसँगको वार्ता, मध्यपूर्वमा युद्धविराम, र स्थिर भूराजनीतिक अवस्था हुँदा सुनको मूल्य घटेको हो। साथै, बजारले अमेरिका–चीनबीचको दुर्लभ खनिज ढुवानीबारे भएको सम्झौतालाई पनि सकारात्मक रूपमा लिएको जनाइएको छ।
यसैबीच, चाँदीको मूल्य भने यस साता थोरै वृद्धि भएको छ। आइतबार प्रतितोला २ हजार १ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार २ हजार १ सय ६५ रुपैयाँमा पुगेको छ। महासंघको तथ्यांक अनुसार सोमबार र बिहीबार क्रमशः २,१७० र २,१७५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो।