Join our Channel

असार १५ मा धान दिवस : दही चिउरा खाएर खेतमा रोपाइँ, संस्कृतिको चाडको रूपमा मनाइँदै

असार १५ मा धान दिवस : दही चिउरा खाएर खेतमा रोपाइँ, संस्कृतिको चाडको रूपमा मनाइँदै

प्रत्येक वर्ष मनाइने राष्ट्रिय धान दिवस आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ। नेपाली समाजमा आजको दिनलाई दही चिउरा खाने पर्वका रूपमा पनि चिनिन्छ।

धान दिवसको अवसरमा किसान खेतमा रोपाइँ गर्दै दही चिउरा खाएर आफूलाई ताजगी प्रदान गर्छन्। जनविश्वास अनुसार असारको गर्मीमा दही चिउरा खानाले शरीरमा शीतलता आउँछ र शक्ति सञ्चय हुन्छ।

यस दिन कृषिमा लागेका मात्र होइन, अन्य पेशामा रहेका नेपालीहरू पनि दही चिउरा खाएर पर्व मनाउँछन्। दही नेपाली संस्कृतिमा शुभ संकेत मानिन्छ — विदेश जानु, घरबाट निस्कनु वा शुभकार्य अघि दही अक्षता लगाउने परम्परा रहेको छ।

वैज्ञानिक दृष्टिले पनि दही स्वास्थ्यवर्धक मानिन्छ। आयुर्वेदमा दही मथेर बनाएको मोही भोजनपछिको औषधि मानिएको छ।

‘पखाला’ जस्ता पेटसम्बन्धी समस्यामा पनि दही चिउरा खाँदा औषधिको काम गर्ने जनविश्वास रहेको छ।

वि.सं. २०६१ मा सरकारले मन्त्रीस्तरीय निर्णयमार्फत २०६२ सालदेखि असार १५ लाई राष्ट्रिय धान दिवसको रूपमा मनाउन थालेको हो।

कृषिप्रधान नेपालमा किसान वर्षभरका लागि अन्नको जोहो गर्न अहिलेको समय खेतमा व्यस्त हुन्छन्। असार १५ का दिन खेतमा रोपाइँ गर्दै “छुपु र छुपु हिलोमा…” जस्ता असारे भाकाहरू गाउँदै रमाइलो गर्ने चलन छ।

युवायुवतीहरू रोपाइँसँगै हिलो छ्यापाछ्याप गर्दै मनोरञ्जन गर्छन्। नेपाली समाजमा एकपटक असारमा हिलोमा पस्नैपर्ने परम्परा रहिआएको छ।

यद्यपि, यस वर्ष असारको मध्यसम्म पनि वर्षा पर्याप्त नभएको कारण कतिपय ठाउँमा रोपाइँ ढिलो भएको छ। साथै, किसानहरूले मलको अभावको गुनासो गरिरहँदा कृषि मन्त्रालयले रासायनिक मल पर्याप्त मौज्दातमा रहेको बताएको छ।

Leave a comment