
ताप्लेजुङ जिल्ला सदरमुकाम फुङलिङ बजार क्षेत्रका सडकहरू धमाधम कालोपत्र भइरहेका छन्। स्थानीयवासीले लामो समयदेखि भोग्दै आएको धुलो र हिलोको समस्याबाट मुक्ति पाउने अपेक्षा गरेका छन्।
सडक डिभिजन कार्यालयकी सुपरभाइजर कल्पना पौडेलका अनुसार फुङलिङस्थित हेलिप्याडदेखि सुकेटारसम्मको १२ किलोमिटर सडकमा अहिले तीव्र गतिमा कालोपत्र भइरहेको छ।
दुई करोड ५५ लाख रुपैयाँको लागतमा चालु आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको पौडेलले जानकारी दिइन्। सडक कालोपत्र भएसँगै फुङलिङ बजारमा यातायात सहज हुने र स्थानीय व्यापारिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास लिइएको छ।