Join our Channel

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमाले राजनीतिमा फर्किँदै, भनिन्– अब एमाले परिवारकी एक सदस्य

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमाले राजनीतिमा फर्किँदै, भनिन्– अब एमाले परिवारकी एक सदस्य

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) को सक्रिय राजनीतिमा पुनः प्रवेश गर्ने औपचारिक घोषणा गरेकी छन्। मदन भण्डारीको ७४औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा उनले एमालेको सदस्यता नवीकरण गर्दै आफू पार्टी राजनीतिमा फर्किएको जानकारी दिइन्।

शनिबार मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको विचार गोष्ठी तथा पुरस्कार वितरण कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरूको उपस्थितिमा उनले भनिन्, “अब म नेकपा एमाले परिवारको एक सदस्यका रूपमा पुनः जोडिएको छु। यसमा म गर्व गर्छु।”

सात वर्ष राष्ट्रपतिको जिम्मेवारी सफलतापूर्वक पूरा गरेपछि भण्डारी अब एमालेको पवित्र उद्देश्यसहित राजनीतिक यात्रामा लाग्ने बताइन्। “फरक ढंगको जिम्मेवारीबाट मुक्त भएपछि म पुनः एमालेमै रहेर राष्ट्र र जनताको सेवामा समर्पित रहनेछु,” उनले भनिन्।

राजनीतिक विशिष्ट महत्वाकांक्षा नरहेको बताउँदै उनले देश र जनताको हितलाई सर्वोपरि ठानेर पुनः राजनीतिमा फर्किएको स्पष्ट पारिन्। “मदन भण्डारीले भन्नुहुन्थ्यो– जनता भनेका भगवान हुन्। राजनीतिमा थकाई हुँदैन। त्यसै अनुसार अघि बढ्नेछु,” भण्डारीको भनाइ थियो।

उनले विगतले आफूलाई परिपक्व बनाएको र पार्टीमा खारिएको अनुभवले राष्ट्रका लागि अझ योगदान गर्न प्रेरित गरेको बताइन्। उनले भनिन्, “समयको पदचाप बुझेर संयमतापूर्वक अघि बढ्नुपर्ने देखिन्छ। सदा झैं सबैको माया र विश्वास चाहन्छु।”

पूर्वउपाध्यक्ष भण्डारीले मदन भण्डारीका विचारलाई देशभर फैलाउने र समाज रूपान्तरणमा योगदान पुर्याउने फाउन्डेसनको अभियानलाई सशक्त बनाउनुपर्ने बताइन्। साथै, उनले दुई छिमेकी देश भारत र चीनको विकासलाई प्रेरणाका रूपमा लिएर नेपालले पनि सन्तुलित समृद्धिको बाटो रोज्नुपर्ने धारणा राखिन्।

कार्यक्रममा २०८२ सालको मदन भण्डारी राष्ट्रिय पुरस्कार सोलुखुम्बुका आङ छिरिङ शेर्पालाई प्रधानमन्त्री केपी शर्मा ओलीबाट एक लाख नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो। शेर्पाको जलवायु परिवर्तन र वातावरण संरक्षणमा योगदानको लागि सम्मान गरिएको फाउन्डेसन अध्यक्ष उषाकिरण भण्डारीले जानकारी दिइन्।

भण्डारीले अन्त्यमा भनिन्, “मदनको सपना साकार पार्न, वर्गीय असमानता, भ्रष्टाचार, जातीय विभेद, अराजकताजस्ता विकृति अन्त्य गर्न समाज रूपान्तरण अपरिहार्य छ। यस अभियानमा म दृढ संकल्पसाथ अघि बढ्नेछु।”

Leave a comment