
हाल सक्रिय मनसुनी वायुको प्रभावका कारण आज देशभर पानी पर्ने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत केही स्थानहरूमा भारी वर्षाको चेतावनी दिइएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार यी प्रदेशका पहाडी भू–भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ। साथै, सुदूरपश्चिम प्रदेशको केही स्थानमा भने भारीदेखि अति भारी वर्षा हुने देखिएको छ।
देशको उच्च–पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ। विशेषगरी रातको समयमा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रहरूमा मौसम झन् सक्रिय हुने सम्भावना महाशाखाले जनाएको छ।
मौसम बुलेटिन अनुसार, आज राति देशभर सामान्यतया बदली रहनेछ र अधिकांश प्रदेशमा चट्याङसहित वर्षा हुने देखिएको छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा केही स्थानहरूमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसम विभागले सबैलाई अनुरोध गरेको छ।