
नेपाली किसानको प्रमुख चाडसरह मानिने राष्ट्रिय धान दिवस अर्थात् असार १५ लाई लक्षित गर्दै भारतले गण्डक नहरमा निर्धारित मितिमा नै पानी पठाएको छ। यस वर्ष समयमै पानी आएपछि किसानहरू रोपाइँको तयारीमा जुट्न थालेका छन्।
नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका सूचना अधिकृत तथा इन्जिनियर सुरेश साहका अनुसार, भारतीय पक्षलाई औपचारिक पत्राचार गरिएको थियो र त्यसकै फलस्वरूप शुक्रबारदेखि नै नहरमा पानी आएको हो।
“यस वर्ष धान दिवसकै दिन रोपाइँ गर्न पाउने वातावरण बनाउने हाम्रो मुख्य उद्देश्य थियो,” इन्जिनियर साहले बताए।
सीमाबाट नै पानी प्रवेश, किसान रोपाइँमा जुट्दै
पर्साको जानकीटोलास्थित नेपाल–भारत सीमा क्षेत्र (शून्य आरडी) बाट गण्डक नहरमा पानी प्रवेश गरेसँगै केही किसानले रोपाइँ सुरू गरिसकेका छन्। बारा जिल्लामा आइतबारदेखि पानी पुगेको भए पनि अधिकांश किसानको बेर्ना अझै तयार नभएकाले केही दिनपछि मात्रै व्यापक रोपाइँ हुने अनुमान गरिएको छ।
हाल नहरमा ५५० क्युसेक पानी प्रवाह भइरहेको छ। रोपाइँको मागअनुसार पानीको मात्रा बढाउँदै लगिने बताइएको छ।
भारत–नेपाल गण्डक सम्झौता र चुनौती
गण्डक सम्झौता अनुसार भारतले असार १५ देखि धानको बालीका लागि तथा पुस १० देखि गहुँका लागि ८५० क्युसेक पानी दिनुपर्ने प्रावधान छ। तर विगतमा समयमै पानी नपुगेका कारण किसानहरू मारमा परेका थिए।
गण्डक नहरबाट पर्सा, बारा र रौतहट जिल्लामा गरी ३७ हजार ४ सय हेक्टर क्षेत्रफलमा सिँचाइ हुने लक्ष्य छ। तर भारतले ब्यारेजको संरचना आफ्नै पक्षमा अधिक पानी प्रवाह हुने गरी बनाएकाले नेपालले सम्झौता अनुसारको लाभ पाउन सकेको छैन।