
सिन्धुलीको कमलामाई नगरपालिका–१४ स्थित रानिबासमा आइतबार राति एक मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
राति करिब ११:५० बजे मदन भण्डारी राजमार्गमा ज ४ प ३४९८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा पछाडि सवार ३५ वर्षीय राजेन्द्र कुवरको बाटोमै ज्यान गएको हो। उनी युवासंघका स्थानीय नेता रहेको प्रहरीले जनाएको छ।
मोटरसाइकल भिमान बजारबाट रानीबासतर्फ गइरहेको थियो। दुर्घटनामा चालक २१ वर्षीय मनिष धामी र १४ वर्षीय करण कुवर घाइते भएका छन्। करणको दायाँ हात र कुममा चोट लागेकाले बर्दिबासको जनसेवा अस्पतालमा उपचार भइरहेको छ।
मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय विमानले आवश्यक अनुसन्धान अगाडि बढाएको छ।