Join our Channel

काठ तस्करी : बर्दियामा चिरान गरिएको सालको काठ बरामद

काठ तस्करी : बर्दियामा चिरान गरिएको सालको काठ बरामद

बर्दियाको बढैयाताल गाउँपालिका–६ स्थित मैनापोखरबाट बाँसगढी जाँदै गरेको ट्याक्टरमा अवैध रूपमा चिरान गरिएको साल जातको काठ प्रहरीले नियन्त्रणमा लिएको छ।
भे १ त ६०८२ नम्बरको ट्याक्टरमा लोड गरिएको १२९.५७ क्युफिट चौकोस साल काठ र ५ क्विन्टल स्ट्रिपसहित ट्रली ट्याक्टरलाई प्रहरीले आवश्यक कारबाहीका लागि बाँसगढी डिभिजन वन कार्यालयमा बुझाएको हो।

जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी चक्रबहादुर डमरपालका अनुसार ट्रली ट्याक्टरको अनुमानित मूल्य करिब १३ लाख ६ सय ६५ रुपैयाँ रहेको छ। बर्दियामा पछिल्लो समय चिरानी अवस्थाको अवैध काठ कारोबारमा वृद्धि देखिएको प्रहरीले जनाएको छ।

यसअघि जेठ महिनामा पनि गुलरिया नगरपालिका–३ मा बेवारिसे अवस्थामा चिरान गरिएको साल जातको काठ बरामद गरिएको थियो। उक्त ८१.१५ क्युफिट काठको अनुमानित बजार मूल्य ३ लाख ६५ हजार १ सय ७५ रुपैयाँ रहेको छ।

डिभिजन वन कार्यालय बर्दियाले अहिले पनि अनुसन्धान जारी राखेको छ। वरिष्ठ वन अधिकृत विजयराज सुवेदीका अनुसार, काठ सामुदायिक वनमार्फत वितरण भइरहेको भए पनि कहिलेकाहीँ अवैध काठ भेटिनु चिन्ताको विषय बनेको छ।

“राष्ट्रिय वन क्षेत्रबाट काठ चोरी भएको प्रमाण अहिलेसम्म भेटिएको छैन,” – वरिष्ठ वन अधिकृत सुवेदीको भनाइ छ।
वन ऐन विपरीत काठको अवैध कारोबारमा संलग्नहरूविरुद्ध कडा कारबाही गरिने उनले स्पष्ट पारे।

Leave a comment