
सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिने योजना बनाइरहनु भएको छ भने केही समय पर्खिनु पर्ने भएको छ। यातायात व्यवस्था विभागले शुक्रबार सूचना जारी गर्दै सवारी लाइसेन्ससँग सम्बन्धित सबै सेवा अस्थायी रुपमा बन्द गरिएको जानकारी दिएको छ।
विभागले दिएको जानकारी अनुसार लाइसेन्स व्यवस्थापन प्रणालीमा समस्या आएको कारणले सबै सेवा बन्द गर्नुपरेको हो। विभागले सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्म ईडीएल प्रणाली, अनलाइन आवेदन प्रणाली तथा अत्यावश्यक लाइसेन्स प्रिन्ट सेवा पूर्णरुपमा बन्द हुने उल्लेख गरेको छ।
“सिस्टमको समस्या समाधानको प्रयास जारी छ। अर्को सूचना नभएसम्म सबै सेवा बन्द रहनेछ,” विभागको सूचनामा भनिएको छ।
सवारी लाइसेन्स लिने वा नवीकरण गर्ने तयारीमा हुनुहुन्छ भने विभागको आगामी सूचनासम्म प्रतीक्षा गर्न विभागले आग्रह गरेको छ।
