Join our Channel

पोखरा विमानस्थलमा ७५ करोडको स्वदेशी इन्धन डिपो सञ्चालनमा, ऊर्जा आत्मनिर्भरता तर्फ ठूलो फड्को

पोखरा विमानस्थलमा ७५ करोडको स्वदेशी इन्धन डिपो सञ्चालनमा, ऊर्जा आत्मनिर्भरता तर्फ ठूलो फड्को

नेपाल आयल निगमले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण गरी सञ्चालनमा ल्याएको छ। कुल ७५ करोड रुपैयाँ लागतमा बनेको यो डिपो पूर्णतः स्वदेशी सीप, पुँजी र परामर्शदाताको प्रयोगबाट निर्माण भएको पहिलो परियोजना हो।

परियोजनाका प्रमुख प्रदीपकुमार यादवका अनुसार, नेपालमा पहिलोपटक यस्तो डिपो स्वदेशी प्रविधि र सीप प्रयोग गरी बनाइएको हो। उनले भने, “यो डिपो केवल इन्धन आपूर्तिको सुनिश्चितता होइन, स्वदेशी क्षमताको प्रमाण हो। यो आत्मनिर्भरतातर्फको ठूलो पाइला हो।”

यस डिपोमा १२०० किलो लिटर क्षमताका ३ वटा भण्डारण ट्यांकी निर्माण भएका छन्। कुल ३६०० किलो लिटर हवाई इन्धन भण्डारण क्षमताको यो डिपोमा प्रत्येक ट्यांकी १२ मिटर अग्लो र १२ मिटर व्यासको छ। परियोजनाका लागि ९,२१५ वर्गमिटर जमिन नागरिक उड्डयन प्राधिकरणसँग लिजमा लिइएको हो।

डिपोमा अमेरिकन पेट्रोलियम इन्स्टिच्युट (API) मापदण्ड अनुसारका स्टोरेज ट्यांकी र पाइप प्रयोग गरिएको छ, जसले अन्तर्राष्ट्रिय गुणस्तर सुनिश्चित गर्छ। सुरक्षा व्यवस्थामा समेत विशेष ध्यान दिइएको छ। १२०० किलो लिटर क्षमताको छुट्टै पानी ट्यांकी र ४,००० लिटर क्षमताको फोम ट्यांकी राखिएको छ। फायर फाइटिङका लागि उच्च क्षमताका डिजेल पम्प र जक्की पम्प पनि जडान गरिएको छ।

हवाई इन्धन भण्डारण तथा आपूर्तिका लागि अत्याधुनिक प्रविधि र फिल्टर जडान गरिएको छ, जसले इन्धनको गुणस्तर जोगाउँछ।
२०७७ साल चैत २ गते बोलपत्र आह्वान भएको डिपो परियोजनाको ठेक्का २०७९ कात्तिक २९ मा सम्झौता गरिएको हो।
२०७९ पुस १५ मा जग्गा भाडा सम्झौता भएको र २०८० साउन १ गते निर्माणको शिलान्यास गरिएको थियो।
नेपाल आयल निगमले आफ्नै आन्तरिक स्रोतबाट लागत जुटाएर परियोजना सम्पन्न गरेको हो।

अब यो डिपोले पोखराबाट हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानलाई सहज रुपमा हवाई इन्धन उपलब्ध गराउनेछ।

Leave a comment