
वीरगञ्ज नाकाबाट भटमास र सूर्यमुखी तेलको आयात र निर्यातमा यस वर्ष कीर्तिमान वृद्धि भएको छ।
चालु आर्थिक वर्षको ११ महिनामा मात्रै वीरगञ्ज नाका हुँदै भटमासको कच्चा तेल ५२ अर्ब ५८ करोड रुपैयाँ बराबरको आयात भएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६१३.४१ प्रतिशतले बढी हो। अघिल्लो वर्षको ११ महिनामा भटमासको कच्चा तेल ७ अर्ब ३७ करोड रुपैयाँ बराबरमा मात्रै आयात भएको थियो।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार, व्यवसायीहरूले भटमासको कच्चा तेल आयात गरेर प्रशोधन गरी विदेशी बजारमा निर्यात गरेका छन्। उनका अनुसार, चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाकाबाट ५५ अर्ब ३ करोड रुपैयाँ बराबरको २५ करोड ८८ लाख लिटर प्रशोधित भटमास तेल निर्यात भएको छ। अघिल्लो वर्षको सोही अवधिमा मात्र ८ करोड ८३ लाख रुपैयाँ बराबरको चार लाख ६४ हजार लिटर तेल निर्यात भएको थियो।
यसैगरी, सूर्यमुखी तेलको व्यापार पनि उल्लेखनीय रहेको छ। चालु आर्थिक वर्षको ११ महिनामा ९ अर्ब ७५ करोड रुपैयाँ बराबरको सूर्यमुखी तेलको कच्चा पदार्थ आयात भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ८ अर्ब ४ करोड रुपैयाँ बराबरको थियो।
त्यस्तै, ११ महिनामा तीन करोड ८८ लाख लिटर सूर्यमुखीको प्रशोधित तेल ८ अर्ब ४० करोड रुपैयाँ बराबरमा निर्यात भएको छ। अघिल्लो वर्षको सोही अवधिमा मात्र पाँच लाख २७ हजार लिटर सूर्यमुखी तेल ९ करोड ९४ लाख रुपैयाँ बराबरमा निर्यात भएको थियो।
भन्सार कार्यालयका अनुसार, प्रशोधित तेलको निर्यात वृद्धि हुनु आयातित कच्चा तेल प्रशोधन गरेर पुनः निर्यात गरिएको व्यापारिक गतिविधिका कारण हो।