Join our Channel

गोरखामा ११ करोडको लिची कारोबार, किसानको आयमा दोब्बर

गोरखामा ११ करोडको लिची कारोबार, किसानको आयमा दोब्बर

गोरखाका किसानहरूले यस वर्ष लिची बिक्रीबाट ११ करोड रुपैयाँ आम्दानी गरेका छन् । गत वर्षको तुलनामा उत्पादन बढेसँगै किसानहरू खुसी भएका छन् ।

कृषि ज्ञान केन्द्र गोरखाका अनुसार यस वर्ष लिची उत्पादन ७.५ प्रतिशतले बढेको छ । केन्द्रका प्रमुख प्रकाश वस्ताकोटीका अनुसार अनुकूल मौसम र बगैँचाको राम्रो व्यवस्थापनका कारण लिची राम्रो फलेको हो ।

गोरखा जिल्लाको पालुङटार नगरपालिका–६ गाइखुर, वडा नम्बर ७ च्याङली र वडा नम्बर ८ धुँवाकोट क्षेत्रमा मुख्य रूपमा लिची खेती हुने गरेको छ । अहिले अधिकांश किसानले आफ्नो लिची बिक्री गरिसकेको वस्ताकोटीले बताए ।

गत वर्ष १५३ हेक्टर क्षेत्रफलमा १,५९७ मेट्रिक टन लिची उत्पादन भएको थियो भने यस वर्ष क्षेत्रफल बढेर १५९ हेक्टरमा १,७१६ मेट्रिक टन लिची उत्पादन भएको हो । औसत प्रतिकेजी ६५ रुपैयाँमा बिक्री भएकाले ११ करोड रुपैयाँभन्दा बढी आम्दानी भएको उनले बताए ।

किसानहरूका अनुसार एक बोटबाट ३ हजारदेखि ७ हजार रुपैयाँसम्मको लिची बिक्री हुने गरेको छ ।

धुँवाकोटका नारायण अर्यालले यस वर्ष मात्रै २ लाख रुपैयाँ आम्दानी गरेका छन् । उनी २० वर्षदेखि लिची खेती गर्दै आएका छन् ।
“यस वर्ष मौसम अनुकूल भएकाले लिची राम्रो फल्यो, असिनाले पनि नोक्सानी गरेन,” अर्यालले भने, “फल ठूला, मीठा र रसिला थिए, सबै किसान खुसी छन् ।”

अर्यालका अनुसार लिची खेती कम मेहनत र कम लगानीमा बढी आम्दानी हुने भएकाले यहाँका धेरै किसान आकर्षित भएका छन् ।
उनले भने, “पहिले मकै, घैया लगाइन्थ्यो, तर लिचीबाट धेरै राम्रो आम्दानी भएपछि अहिले धेरै किसान लिची खेतीतर्फ लागेका छन् ।”

उनका २५० वटा लिचीका बोट छन् । व्यापारीहरू फागुनमै बगैँचाको ठेक्का लिन आउने भएकाले बिक्रीको चिन्ता हुँदैन ।
अर्यालका अनुसार प्रतिकेजी ६५ देखि १०० रुपैयाँसम्म लिची बिक्री भएको छ ।
पृथ्वीराजमार्ग नजिकै रहेकाले पनि यहाँका किसानलाई बजारको समस्या छैन ।
गोरखाको लिची काठमाडौँ, पोखरा, दमौली, डुम्रे लगायतका सहरहरूमा बिक्री हुने गर्छ ।

यहाँका किसानहरू भन्छन्— थोरै बोट भएको किसानले पनि सिजनमा २० हजार रुपैयाँसम्म कमाइ गरेका छन् ।

कम मेहनतमा बढी आम्दानी हुने भएकाले लिची खेती गोरखामा लोकप्रिय बन्दै गएको छ ।
सन् १९७३ (वि.सं. २०३०) मा परीक्षणका रूपमा सुरु गरिएको लिची खेती अहिले व्यावसायिकरूपमा फस्टाइरहेको छ ।
लिचीका बिरुवा सुरक्षित गर्न प्रत्येक वडामा नर्सरी स्थापना गरिएको छ ।

Leave a comment