
सेवाग्राहीसँग घूस मागेको आरोपमा रूपन्देहीको मर्चवारी गाउँपालिका–३ का वडाध्यक्ष जनार्दन यादव अख्तियारको फन्दामा परेका छन् । उनीसँगै सिद्धार्थनगर नगरपालिका–९ का श्रीगणेश ट्रेडिङका सञ्चालक विपिनकुमार पाण्डेय पनि पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी सूचना अधिकारी गीता आचार्यका अनुसार वडाध्यक्ष यादवले विभिन्न विकास योजनाको निर्माण सम्पन्नपछिको भुक्तानी सिफारिस गर्न सेवाग्राहीसँग घूस मागेका थिए ।
उनले मागेको तीन लाख रुपैयाँ घूस रकम सञ्चालक पाण्डेयमार्फत लिइएको थियो । अख्तियारको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले सोमबार वडाध्यक्ष यादव र पाण्डेयलाई तीन लाख रुपैयाँसहित नियन्त्रणमा लिएको हो ।
अख्तियारका अनुसार हाल घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ ।