Join our Channel

आज गण्डकी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

आज गण्डकी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशभर मनसुनी वायु सक्रिय रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले देशभर आंशिकदेखि सामान्य बदली हुने जनाइएको छ ।

आज दिउँसो वाग्मती, गण्डकी, लुम्बिनीलगायत अन्य प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भने भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ । त्यस्तै, उच्च पहाडी र हिमाली भेगका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा तथा हिमपात पनि हुन सक्ने जनाइएको छ ।

आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान छ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रका केही ठाउँ तथा अन्य भागमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । साथै कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले सम्भावित भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहावको जोखिम बढेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेको भन्दै स्थानीय बासिन्दा तथा सरोकारवाला निकायलाई सतर्क रहन अनुरोध गरिएको छ ।
महाशाखाका अनुसार ठूला तथा साना नदीनाला, खोलामा पानीको सतह बढ्न सक्नेछ । साथै, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी आसपासका सडक र हवाई यातायातमा असर पर्न सक्ने भएकाले पूर्वतयारी गर्न सुझाव दिइएको छ ।

Leave a comment