
त्रिभुवन विश्वविद्यालय (त्रिवि) को २१औं उपकुलपतिमा प्राध्यापक डा. दीपक अर्याल नियुक्त भएका छन् । प्रधानमन्त्री तथा त्रिविका कुलपति केपी शर्मा ओलीले जलवायु विज्ञानका प्राध्यापक अर्याललाई बुधबार नियुक्त गरेका हुन् ।
उनी त्रिविको मौसम विज्ञान विभागका पूर्वप्रमुख समेत हुन् । अर्यालले त्रिविबाटै विद्यावारिधि (PhD) गरेका छन् भने जापानको नागोया विश्वविद्यालयबाट वायुमण्डलीय विज्ञानमा स्नातकोत्तर गरेका हुन् । काठमाडौं जोरपाटी निवासी अर्याल चर्चित हास्यव्यंग्यकार भैरव अर्यालका छोरा पनि हुन् ।
तीन महिनापछि त्रिविले उपकुलपतिमा नयाँ नेतृत्व पाएको हो । पूर्व उपकुलपति केशरजंग बरालले प्रधानमन्त्रीको हस्तक्षेप र असहयोगको कारण देखाउँदै २८ चैतमा राजीनामा दिएका थिए । त्यसपछि २ वैशाखदेखि प्राध्यापक खड्ग केसीलाई निमित्त उपकुलपतिका रूपमा जिम्मेवारी दिइएको थियो ।
चार वर्षे कार्यकालका लागि नियुक्त भएका अर्यालपछि खड्ग केसी पुनः रेक्टरमा फर्कने भएका छन् भने निमित्त रेक्टरको जिम्मेवारी मानविकी संकायका डीन द्विविनन्द ढकाललाई दिइएको छ ।
राजनीतिक भागबन्डामाथि प्रश्न
शिक्षामन्त्री रघुजी पन्त संयोजकत्वको समितिले अर्यालसहित खड्ग केसी र विनिल अर्यालको नाम सिफारिस गरेको थियो । तीनै जना सत्तारूढ एमाले निकट भएकाले यो नियुक्ति प्रक्रियामाथि फेरि राजनीतिक भागबन्डाको आलोचना उठेको छ ।
यसअघि शिक्षामन्त्री अशोक राई, सुमना श्रेष्ठ र विद्या भट्टराईको कार्यकालमा ‘मेरिट’ आधारित छनोट प्रक्रिया अपनाइएको थियो, तर यसपटक कार्यविधिलाई बेवास्ता गर्दै ‘गोजीबाट’ नियुक्ति गरिएको आरोप लागेको छ ।
शिक्षाविद्हरूले त्रिविमा प्राज्ञिक नेतृत्वको सट्टा राजनीतिक भागबन्डा हावी भएको भन्दै चिन्ता व्यक्त गर्दै आएका छन् ।
बालुवाटारमै सिनेट बैठक, आलोचना कायमै
प्रधानमन्त्री ओलीले त्रिविको वार्षिक दिवस र साधारणसभा (सिनेट) बिहीबार आफ्नै निवास बालुवाटारमा बोलाएका छन् । उपसचिव विष्णुप्रसाद सुवेदीले त्रिवि उपकुलपतिलाई पत्राचारमार्फत जानकारी गराएका हुन् ।
यसअघि पोखरा विश्वविद्यालयको सिनेट बैठक पनि बालुवाटारमै गरिएको थियो । प्रधानमन्त्री निवासमै विश्वविद्यालयको बैठक राख्ने, तीन महिना उपकुलपति नियुक्त नगर्ने, शपथसमेत बालुवाटारमै गराउने प्रधानमन्त्रीको शैलीको शिक्षाविद्हरू र पूर्वउपकुलपतिहरूले आलोचना गरेका छन् ।
गत आइतबारका लागि तय गरिएको त्रिविको सिनेट बैठक प्रधानमन्त्रीको निर्देशनमा स्थगित गरिएको थियो । ९० हजार विद्यार्थीको शैक्षिक उपाधि पारित गर्ने तथा नयाँ बजेट स्वीकृत गर्ने कार्यसूची बैठकमा तय गरिएको थियो, जुन हाल रोकिएको छ ।
पोखरा विश्वविद्यालयको डेढ अर्बको बजेट पारित
पोखरा विश्वविद्यालयको सिनेटले एक अर्ब ५४ करोड रुपैयाँको बजेट पारित गरेको छ । उपकुलपति वेदराज केसीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
बैठकले शिक्षक कर्मचारी नियमावली २०५५, आर्थिक नियमावली २०५५ तथा सेवा आयोग र पुनरावेदन समितिसम्बन्धी नियमावली २०५७ संशोधन प्रस्ताव पनि पारित गरेको छ ।