Join our Channel

तेस्रो मुलुकमा नेपाली गलैँचा निर्यात सुरु, उद्योगले दिएको रोजगारीले बढायो आशा

तेस्रो मुलुकमा नेपाली गलैँचा निर्यात सुरु, उद्योगले दिएको रोजगारीले बढायो आशा

नेपाली उत्पादनलाई विश्व बजारमा पुर्‍याउने अभियानमा एउटा नयाँ उपलब्धि थपिएको छ। बारा–पर्सा औद्योगिक कोरिडोरस्थित प्रेस्टिज कार्पेट इन्डिस्ट्रिज ले पहिलोपटक तेस्रो मुलुकमा गलैँचा निर्यात गर्न सफल भएको छ।

गत बिहीबार मात्र ३० हजार वर्गमिटर गलैँचा सुक्खा बन्दरगाहमार्फत संयुक्त अरब इमिरेट्स (UAE), अमेरिका र अफ्रिकी मुलुक केन्यातर्फ पठाइएको छ।

यसअघि भारतमा मात्रै निर्यात गरिँदै आएकोमा अब विश्वका प्रमुख बजारतर्फ पाइला टेक्न थालेको उद्योगका सञ्चालक अमन साहले बताए। उनका अनुसार, “करिब १ करोड रुपैयाँ बराबरको नेपाली गलैँचा तेस्रो मुलुकमा पठाइएको छ, यो हाम्रो लामो प्रयासपछि आएको सफलता हो।”

१०० जना नेपालीलाई रोजगारी

बारा जिल्लाको जितपुर–सिमरा उपमहानगरपालिका–२३ मा अवस्थित उक्त कार्पेट उद्योगले हाल १०० नेपालीलाई प्रत्यक्ष रोजगारी दिएको छ।

२० लाख वर्गमिटर वार्षिक उत्पादन क्षमता रहेको यो उद्योगले प्रति वर्गमिटर रु ९०० देखि रु ४,००० सम्म मूल्य पर्ने गलैँचा उत्पादन गर्दै आएको छ। उद्योगमा हालसम्म ४० करोड रुपैयाँ बराबरको लगानी भइसकेको छ।

विदेशबाट कच्चा पदार्थ, विदेशमै निर्यात

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले नेपाली उत्पादनमा आएको गुणस्तर सुधार र निर्यातको सुरुवातले गौरवको अनुभूति गराएको बताए। “विदेशबाट कच्चा पदार्थ ल्याएर नेपालमै उत्पादन गरी तेस्रो मुलुकमा निर्यात गर्नु व्यवसायिक दृष्टिले निकै सकारात्मक संकेत हो,” उनले भने।

उद्योगको निर्यात विस्तारले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजारमा सम्भावना बढाएको देखिएको छ।

Leave a comment