
लामो समयदेखि जोतभोग गर्दै आए पनि लालपुर्जा नपाएका बर्दघाट नगरपालिकाका १०० सुकुम्बासी तथा अव्यवस्थित बासिन्दालाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण गरिएको छ।
भूमिसम्बन्धी समस्या समाधान आयोग, पश्चिम नवलपरासीले बर्दघाट–५ का ४ जना सुकुम्बासी र ९६ जना अव्यवस्थित सुकुम्बासीलाई लालपुर्जा प्रदान गरेको हो।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य विनोद चौधरीले स्थानीयको पीडामा मलम लगाउने काम भएको भन्दै लालपुर्जा वितरणप्रति खुसी व्यक्त गरे। उनले जग्गाको प्रमाणपत्र आर्थिक सशक्तीकरणको आधार रहेको बताए।
एमाले जिल्ला अध्यक्ष दीपेन्द्र अधिकारीले भूमिहीन समस्या समाधानमा आयोगले देखाएको सक्रियता प्रशंसनीय रहेको बताए। उनले अझ प्रभावकारी ढंगले बाँकी समस्या समाधान गर्न आयोगलाई सुझाव पनि दिए।