Join our Channel

पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध, सयौं सवारी बीचमै अलपत्र

पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध, सयौं सवारी बीचमै अलपत्र

अविरल वर्षासँगै खसेको पहिरोका कारण सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्ड शुक्रबार बिहानैदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ।

पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान सिद्धबाबा क्षेत्रमा बिहान ५ बजे खसेको ठूलो पहिरोका कारण यातायात ठप्प भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। ड्याम साइड र सिद्धबाबा दुबै क्षेत्रमा पहिरो खसेपछि सडक दुबै दिशातर्फबाट बन्द भएको हो।

स्थानीय विष्णुप्रसाद पाण्डेका अनुसार रातभरको वर्षा रोकिनासाथ पहिरो झर्ने क्रम रोकिए पनि बिहान पुनः पहिरो खसेपछि अवरोध थपिएको हो।

प्रहरीका अनुसार वर्षा रोकिएपछि सिद्धबाबा सुरुङमार्ग आयोजनाअन्तर्गत चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनको हेभी मेसिन प्रयोग गरी सडक खुलाउने प्रयास गरिनेछ।

सडक अवरुद्ध हुँदा पहाडबाट तराई झर्ने र तराईबाट पहाड जाने सयौं सवारी साधन बीचमै रोकिनु परेको छ। यस अवरोधका कारण गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङलगायत गन्तव्यका यात्रुले लामो समय सास्ती भोग्नु परेको छ।

Leave a comment