
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको शनिबार हुने मिनी अक्सनमा ५ टिमबीच तीव्र प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। खेलाडी भर्ना प्रतिस्पर्धामा चितवन राइनोज, विराटनगर किंग्स, लुम्बिनी लायन्स, काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्स छन्।
गत वर्षको पहिलो सिजनमा प्रत्येक टोलीले मार्की खेलाडी बाहेक न्यूनतम ६५ लाखदेखि अधिकतम ९० लाख रुपैयाँ खर्च गर्न पाउने प्रावधान थियो। तर चितवनले ६३ लाख मात्र खर्च गरेको थियो। यसपटक चितवनले शरद भेषावकर, विपिन रावल, सन्तोष कार्की, दीपेश श्रेष्ठ र रन्जित कुमारलाई रिलिज गरेपछि ५८ लाख रुपैयाँ बजेटसहित अक्सनमा उत्रिनेछ।
यसैगरी विराटनगरसँग ४५ लाख ५० हजार, लुम्बिनीसँग ४५ लाख २० हजार, काठमान्डुसँग ४३ लाख र सुदूरपश्चिमसँग ४१ लाख ५० हजार रुपैयाँ खर्च गर्ने सुविधा हुनेछ।
‘ए’ श्रेणीमा रहेका अर्जुन साउद, दिलीप नाथ, देव खनाल, पवन सर्राफ, शरद भेषावकर, मोहम्मद आदिल आलम, सूर्य तामाङ र सुनाम गौतमको न्यूनतम मूल्य १० लाख र अधिकतम १५ लाख तोकिएको छ। तीन वर्षअघि स्पट फिक्सिङ आरोपमा प्रतिबन्धित आदिललाई अघिल्लो महिना मात्रै राष्ट्रिय प्रतियोगितामा फर्किन अनुमति दिइएको हो।
‘बी’ श्रेणीमा ३५ खेलाडी रहेका छन् जसको मूल्य ५ देखि १० लाख रुपैयाँसम्म छ। यसमा आकाश त्रिपाठी, विपिन रावल, दीपेश श्रेष्ठ, प्रदीप ऐरी, पृथु बाँस्कोटा लगायतका नाम छन्।
त्यस्तै ‘सी’ श्रेणीमा एक सयभन्दा बढी खेलाडी सहभागी छन्, जसमा नेपाली यू–१९ टोलीका उपकप्तान अभिषेक तिवारी, अरनिको यादव र दीपक डुम्रे पनि समावेश छन्।
यसपटकको मिनी अक्सनमा युवा र अनुभवी खेलाडीको संयोजन देखिने अनुमान गरिएको छ, जसले एनपीएल २०२५ लाई अझ प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको छ।