
प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षअघिको तुलनामा अहिले नेपालको अर्थतन्त्रमा उल्लेख्य सुधार भएको दाबी गरेका छन्।
बुधबार संसद्मा तुर्कमेनिस्तानको अवाजा सहरमा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागिताबारे जानकारी दिँदै उनले आर्थिक वृद्धि ३.७ प्रतिशतबाट ४.६ प्रतिशत पुगेको बताए।
ओलीका अनुसार जीडीपी ४ खर्बले विस्तार भएको छ, राजस्व संकलन ११.३ प्रतिशतले बढेको छ, रेमिट्यान्स १५.५ प्रतिशतले बढेर १५ खर्ब ३३ अर्ब पुगेको छ। निर्यात ८१.८ प्रतिशतले बढेको दाबी पनि उनले गरे।
प्रधानमन्त्रीले सडक, सुरुङ, विद्युत् निर्यात, कानुन संशोधन, लगानीमैत्री वातावरण, र स्टार्टअप कर्जा कार्यक्रमलाई आफ्नो सरकारको उपलब्धि बताए। उनले नेपालले फिच (Fitch) बाट बीबी माइनस साख मूल्यांकन पाएको र यसले लगानी वातावरण बलियो भएको पनि दाबी गरे।
तर, विश्लेषकहरूका अनुसार रेमिट्यान्स वृद्धि मुख्यतया वैदेशिक रोजगारी बढ्नुका कारण हो, जुन रोजगारी अवसर अभावको नतिजा हो। निर्यात वृद्धि पनि नेपालमा उत्पादन बढेर नभई भारतको भन्सार दर परिमार्जनका कारण पाम र सोयाबिन तेलको पुनःनिर्यातले भएको हो।
प्रधानमन्त्रीको दाबी अनुसार वित्तीय पहुँच बढेको, ब्याजदर घटेको, र कम्पनी दर्ता पूर्ण अनलाइन भएको छ। उनले विद्युत् निर्यात बंगलादेशसम्म विस्तार भएको र पेट्रोलियम पाइपलाइन निर्माण सुरु भएको पनि जानकारी दिए।