Join our Channel

तदर्थ समिति गठनमा आधिकारिक एनओसीको कडा आपत्ति, लोगो र लेटरहेड अनधिकृत प्रयोग नगर्न चेतावनी

तदर्थ समिति गठनमा आधिकारिक एनओसीको कडा आपत्ति, लोगो र लेटरहेड अनधिकृत प्रयोग नगर्न चेतावनी

नेपाल ओलम्पिक कमिटी (एनओसी) ले तदर्थ समिति गठनसम्बन्धी घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बुधबार विज्ञप्ति जारी गर्दै अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव राजीव श्रेष्ठको नेतृत्वमा रहेको एनओसी नै नेपालको एकमात्र आधिकारिक ओलम्पिक कमिटी भएको स्पष्ट गरेको हो।

यसअघि पूर्वअध्यक्ष ध्रुवबहादुर प्रधानको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गरिएको घोषणा भएको थियो। यो घोषणा एनओसीकै लेटरहेड र छाप प्रयोग गरेर जारी गरिएको थियो, जसमा २३ राष्ट्रिय खेल संघका पदाधिकारी सहभागी भएको भनिएको छ।

एनओसीका अनुसार अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (IOC) को बडापत्र र राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा ३७ ले एक देशमा एकमात्र ओलम्पिक कमिटी रहने व्यवस्था गरेको छ। त्यसैले, आधिकारिक कमिटी हुँदाहुँदै केही अनाधिकृत व्यक्तिहरूको भेलाले तदर्थ समिति गठन गर्न नसक्ने चेतावनी दिइएको हो।

विज्ञप्तिमा एनओसीको लोगो, ओलम्पिक रिङ र झण्डाको प्रयोग अन्तर्राष्ट्रिय मान्यता प्राप्त आधिकारिक एनओसीले मात्र गर्न पाउने र त्यसको अनधिकृत प्रयोग नगर्न सूचित गरिएको छ। महासचिव राजीव श्रेष्ठद्वारा जारी विज्ञप्तिमा नेपालका खेलाडीको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता सुनिश्चित गर्ने अधिकार आधिकारिक एनओसीकै भएको उल्लेख गरिएको छ।

गत पुसमा सम्पन्न निर्वाचनले जीवनराम श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएपछि ओलम्पिक कमिटीको विवाद सतहमा आएको थियो।

Leave a comment