Join our Channel

मनसुन कमजोर हुँदै, केही प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना

मनसुन कमजोर हुँदै, केही प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना

देशभर क्रमशः कमजोर हुँदै गएको मनसुन अझै पनि विभिन्न भागमा असर गरिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतर्फ सरेको छ, जसका कारण देशभर मनसुन क्रमशः कमजोर हुँदै गएको हो । तर, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा प्रवेश गर्ने क्रम भने जारी छ ।

आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसँगै देशका पहाडी भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने बाँकी भागमा आंशिक बदली मात्र रहने महाशाखाले जनाएको छ । यी प्रदेशका केही स्थान तथा तराईका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, आज राति कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका साथै पहाडी भूभागमा सामान्य बदली र अन्य क्षेत्रमा आंशिक बदली रहनेछ । मधेस, कोशी, वाग्मती र गण्डकी प्रदेशका तराई तथा पहाडी क्षेत्रमा मध्यम वर्षाको सम्भावना रहँदा, कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा भारी वर्षा पनि हुन सक्ने अनुमान गरिएको छ ।

महाशाखाले वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो र गेग्रान बहाव (डेब्रिज फ्लो) को जोखिम रहने, ठूला तथा साना नदी–नाला तथा खोलामा पानीको सतह बढ्न सक्ने, साथै यातायात क्षेत्रमा असर पर्न सक्ने भन्दै सतर्कता अपनाउन तथा पूर्वतयारी गर्न सबैलाई अनुरोध गरेको छ ।

Leave a comment