Join our Channel

साउदी नेपाली दूतावासबाटै श्रम स्वीकृति नवीकरण सुरु, ३ जनाले पाए सेवा

साउदी नेपाली दूतावासबाटै श्रम स्वीकृति नवीकरण सुरु, ३ जनाले पाए सेवा

साउदी अरबमा कार्यरत नेपालीहरूले अब नेपाल फर्किनु नपरी दूतावासबाटै श्रम स्वीकृति नवीकरण गर्न सक्ने भएका छन्। यो सुविधा गत शुक्रबार नेपाली राजदूत डा. नरेश विक्रम ढकाल र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरद सिंह भण्डारीको उपस्थितिमा भर्चुअल माध्यमबाट सुरु भएको हो।

राजदूत ढकालले भने, “साउदी कार्यरत नेपालीलाई सहजीकरण गर्ने उद्देश्यले यो सुविधा सुरु गरिएको हो। अब नेपाल फर्किनुपर्ने बाध्यता हटाएर दूतावासमार्फत अनलाइन नै वैधानिक रूपमा श्रम स्वीकृति नवीकरण गर्न सकिनेछ।”

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जारी गरेको नयाँ कार्यविधि अनुसार यो सुविधा श्रम स्वीकृतिको म्याद सकिएको भए पनि वैधानिक रूपमा कार्यरत, नेपाल फर्कन नसकेका श्रमिकहरूलाई प्रत्यक्ष लाभ पुर्‍याउने विश्वास गरिएको छ।

श्रम काउन्सेलर कविराज उप्रेतीका अनुसार हालसम्म ३ जनाले आवेदन दिएका छन्।

सन् २०२४ सेप्टेम्बर ३० भन्दा पहिलेदेखि कानुनी रूपमा साउदी अरबमा कार्यरत श्रमिकहरूले अनलाइन आवेदन दिन सक्नेछन्। आवेदन दिन वैदेशिक रोजगार विभागको आधिकारिक अनलाइन प्रणालीमा गएर फाराम भर्नुपर्ने व्यवस्था मिलाइएको छ।

आवेदनका लागि राहदानी, साउदीको वैध आवासीय अनुमति पत्र (अकामा), नेपालमा गरिएको म्यादी जीवन बीमा, सामाजिक सुरक्षा कोष तथा वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गरेको प्रमाण, र हाल कार्यरत कम्पनीसँगको करार सम्झौता अनलाइनमा अपलोड गर्नुपर्नेछ।

दूतावासले आवेदन र कागजातको आधिकारिकता जाँच गर्नेछ र प्रक्रिया स्वीकृत हुनु अघि आवेदकको जैविक विवरण (फोटो, आँखाको आइरिस स्क्यान र औँठाछाप) समेत लिने व्यवस्था रहेको छ। कुनै कागजात अपुग वा अस्पष्ट भएमा आवेदन अस्वीकृत गरी थप विवरण पेश गर्न सूचित गरिनेछ।

Leave a comment