
कोशी राजमार्ग अन्तर्गत भोटखोलाको हुङ्गुङ खण्डमा गएको ठूलो पहिरोका कारण यातायात पूर्ण रूपमा ठप्प भएको छ। खाँदबारीदेखि किमाथां नाकासम्म जोड्ने यो महत्वपूर्ण सडक करिब १ सय १५ किलोमिटर क्षेत्रफलमा अवरुद्ध भएको हो।
कोशी उत्तरदक्षिणी सडक योजनाका प्रमुख रामबहादुर गुरुङका अनुसार करिब ३०० मिटर सडकमा ढुंगा, माटो र झाडी मिसिएको ठूलो पहिरो खसेकाले सम्पूर्ण यातायात आवतजावत रोकिएको छ।
‘भीरालो भूभाग भएकाले तत्काल पहिरो पन्छाउन सकिने अवस्था छैन,’ गुरुङले बताए। ‘मेसिन प्रयोग गर्न असहज भएकाले काम अझै जटिल भएको छ।’
तीन दिनदेखि बन्द रहेको यस खण्डमा दैनिक उपभोग्य वस्तु, इन्धन, निर्माण सामग्री लगायतका ढुवानीमा ठूलो असर परेको छ। हरेक वर्ष वर्षायाममा यस क्षेत्रमा पहिरो जाने गरे पनि यस पटकको पहिरो अत्यधिक ठूलो भएको र कहिले खुल्ने भन्ने स्पष्ट नभएको उनले जानकारी दिए।
हाल प्राविधिक टोलीले पहिरो हटाउने प्रयास गरिरहेको छ तर लगातारको वर्षा र भीरालो जमिनका कारण कार्यमा कठिनाइ आएको छ।