
चौलागाईँको दाबी: ओलीविहीन एमाले बनाउने खेल
रामेछापमा शनिबार सम्पन्न एमालेको पाँचौँ पूर्ण बैठकमा पोलिटब्युरो सदस्य कमलप्रसाद चौलागाईँले नेपालमाथि अझै विदेशी हस्तक्षेप भइरहेको आरोप लगाए। उनका अनुसार अन्तर्राष्ट्रिय शक्तिहरूले “केपी शर्मा ओली बाहेकको एमाले र एमाले बाहेकको नेपाल” बनाउन खोजिरहेका छन्। उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको हालको सक्रियतालाई पनि सोही खेलको हिस्सा भने।
ओलीमाथि आक्रमण राष्ट्रहित विपरीत नभएको दाबी
चौलागाईँले भने, “अहिले चौतर्फी आक्रमण भएको बेला पार्टी अध्यक्षलाई हटाउनुपर्ने कुनै कारण छैन। बाह्य हस्तक्षेपको प्रतिवाद गर्ने नेताका रूपमा ओलीमाथि आक्रमण भएको हो, राष्ट्रहित विपरीत काम गरेको कारणले होइन।”
उनले भारतको नाकाबन्दीको सामना गर्नेदेखि चुच्चे नक्सा जारी गर्ने क्षणसम्म ओलीको दृढ भूमिकालाई स्मरण गर्दै ओलीलाई बचाउनु नै राष्ट्रहितसँग जोडिएको दाबी गरे।
स्थिरता रोक्ने शक्ति र षड्यन्त्रको आरोप
उनका अनुसार, नेपालमा स्थिरता नआओस् भन्ने शक्तिहरू सक्रिय छन् र एमालेलाई कमजोर पार्ने षड्यन्त्रहरू भइरहेका छन्।
“हामीले २०८४ को निर्वाचनमा स्पष्ट बहुमत ल्याउने सम्भावना देखाएका छौँ, त्यसलाई रोक्न विभिन्न गतिविधि भइरहेका छन्,” चौलागाईँले भने।
संगठन सुदृढीकरणमा जोड
चौलागाईँले पार्टीको जरा–केन्द्रित अभियानबाट संकलित प्रतिवेदनलाई आधार बनाएर संगठनलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए। उनले भने, “मुख्य केन्द्र पालिकालाई बनाउनुपर्छ, पालिकाले सक्षम नेतृत्व खोजेको छ।”