
कञ्चनपुर प्रहरीले भारतबाट अवैध रूपमा ल्याइएका कुखुराका चल्ला बरामद गरी नष्ट गरेको छ। सोमबार ब्रह्मदेव नाका क्षेत्रमा बरामद गरिएका ३६० चल्ला नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी सागर बोहराले जानकारी दिए।
हालै भारतको उत्तराखण्ड राज्यको उद्यमसिंहनगरमा वर्ड फ्लुको संक्रमण देखिएपछि सीमामा कडाइ र सतर्कता बढाइएको छ। डिएसपी बोहराले भने, “बरामद गरिएका सबै चल्ला नष्ट गरिएको छ। भारतमा वर्ड फ्लुको संक्रमण देखिएकाले सबैले सतर्कता अपनाउनुपर्छ।”
नेपाल सरकारले पन्छी तथा पन्छीजन्य पदार्थको आयातमा प्रतिबन्ध लगाएको छ। पशु क्वारेनटाइन चेक पोस्ट गड्डाचौकीका प्राविधिक धनकृष्ण अधिकारीले वर्ड फ्लुको जोखिमका कारण कुखुरा व्यवसायीहरूलाई थप सतर्कता अपनाउन आग्रह गरेका छन्।