
तनहुँ जिल्लामा एक जनामा जापानिज इन्सेफलाइटिस (JE) सङ्क्रमण पुष्टि भएको छ। भिमाद नगरपालिका–२ का ८० वर्षीय पुरुषमा यो रोग देखिएको जनस्वास्थ्य कार्यालय तनहुँले जानकारी दिएको छ।
नयाँ मेडिकल कलेज, चितवनमा गरिएको परीक्षणमा उक्त वृद्धमा रोग पोजिटिभ देखिएको सूचना अधिकारी सुदीप कँडेलले बताए। रोगको पुष्टि भएपछि जनस्वास्थ्य कार्यालय प्रमुख अमर दवाडीको नेतृत्वमा सम्पर्क परीक्षण र जनचेतना कार्यक्रम सञ्चालन गरिएको छ।
जापानिज इन्सेफलाइटिस लामखुट्टेको टोकाइबाट सर्ने रोग हो, जसले स्नायु प्रणालीलाई प्रभावित गर्छ र गम्भीर अवस्थामा मृत्युसमेत हुन सक्छ। स्वास्थ्यकर्मीहरूले लामखुट्टेको नियन्त्रण र समयमै उपचार नै यस रोगबाट बच्ने मुख्य उपाय भएको बताएका छन्।