
बिरामी पत्नीको हत्या गरेको आरोपमा पक्राउ परेका भीमफेदी गाउँपालिका–१ का ४५ वर्षीय मानवबहादुर शिवभक्तिलाई जिल्ला अदालत मकवानपुरले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।
जिल्ला न्यायाधीश पूर्णिमा कोइरालाको इजलासले बिहीबार ४० वर्षीया दुर्गालक्ष्मी शिवभक्तिको हत्या आरोपमा मानवबहादुरलाई थुनामा राख्न आदेश दिएको हो। घटनामा उनले गत साउन १७ गते मकवानपुरगढी गाउँपालिका–५ वुङदोलस्थित ससुरालीमा घरमा कोही नभएको बेलामा पत्नीको घाँटी थिचेर हत्या गरेका थिए।
मानवबहादुरले हत्या गरेपछि जिल्ला प्रहरी कार्यालय हेटौंडामा आत्मसमर्पण गर्दै घटनाको जानकारी दिएका थिए। प्रहरीका अनुसार दुर्गालक्ष्मी विगत २ वर्षदेखि प्यारालाइसिसकी बिरामी थिइन् र दुई छोरासहित माइतमा बस्दै आएकी थिइन्। मानवबहादुर बेलाबेलामा ससुराली जाने गरेका थिए।
बयानअनुसार, लामो समयदेखि उपचार खर्च र मानसिक तनावका कारण उनी असहज महसुस गर्दै आएका थिए। हत्या गरेपछि झुण्डिएर आत्महत्या गर्न खोज्दा डोरी चुँडिएपछि उनी प्रहरी सम्पर्कमा आएका थिए।
प्रहरीले घटनाको विस्तृत अनुसन्धान जारी राखेको र मानवबहादुरलाई कानूनी कारबाहीका लागि थुनामा पठाइएको जनाएको छ।