
बंगालको खाडीबाट जलवाष्पयुक्त हावा प्रवेशसँगै मनसुन केही सक्रिय बनेको छ। जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुन न्यूनचापीय रेखा सरदर स्थानमा अवस्थित छ।
आज दिउँसो देशभर बदली रहने छ भने पहाडी क्षेत्रका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। विशेषगरी कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही भागमा भारी वर्षा हुनसक्ने चेतावनी महाशाखाले दिएको छ।
आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने र कोशी तथा सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।
महाशाखाले वर्षा बढेसँगै पहिरो, गेग्रान बहाव (Debris Flow), साना तथा ठूला नदी-नाला र खोलामा पानीको सतह बढ्ने र यातायात क्षेत्रमा असर पर्न सक्ने भन्दै सतर्क रहन र पूर्वतयारी गर्न आग्रह गरेको छ।