Join our Channel

वीरगन्जमा हैजा नियन्त्रणका लागि गृह मन्त्रालयको सक्रियता

वीरगन्जमा हैजा नियन्त्रणका लागि गृह मन्त्रालयको सक्रियता

वीरगन्जमा फैलिएको हैजाको प्रकोप नियन्त्रणका लागि गृह मन्त्रालयले तीव्र पहल थालेको छ। गृहमन्त्री रमेश लेखकले शनिबार राति नारायणी अस्पतालमा सरोकारवालासँग भेट्दै सबै संयन्त्र परिचालन गरेर हैजा छिट्टै नियन्त्रणमा ल्याउने प्रतिबद्धता जनाएका छन्।

गृहमन्त्री लेखकले तीनवटै तहको सरकारलाई समन्वय गर्दै काम गर्न निर्देशन दिएका छन्। उनले प्रारम्भिक चरणमा नेपाल र सशस्त्र प्रहरीको टोली परिचालन गर्न लागिएको र आवश्यक परेमा सेनालाई समेत सक्रिय गरिने बताए।

“हैजाको संक्रमण दर कम हुँदै गएको छ भनेर निश्चिन्त हुने अवस्था छैन। समयमै नियन्त्रणमा नलिए ठूलो समस्या हुन सक्छ,” उनले भने।

गृहमन्त्रीसँगै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसिया, खानेपानीमन्त्री प्रदीप यादव र कांग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला पनि अस्पताल भ्रमणमा सहभागी थिए।

यसअघि गृहमन्त्रीले अस्पतालमा उपचाररत झाडापखाला तथा हैजाका बिरामी भेटी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए। आइतबारदेखि वीरगन्जमा नेपाल र सशस्त्र प्रहरीका चिकित्सकसमेत सहभागी दुईवटा टोली जिम्मेवारीका साथ खटिनेछन्।

Leave a comment