Join our Channel

कृष्णनगर नाकाबाट बर्सेनि १ अर्ब बढीको प्लाइउड भारत निर्यात

कृष्णनगर नाकाबाट बर्सेनि १ अर्ब बढीको प्लाइउड भारत निर्यात

मुलुकका प्रमुख १० भन्सार नाकामध्ये पर्ने कृष्णनगर नाकाबाट बर्सेनि १ अर्बभन्दा बढीको प्लाइउड भारत निर्यात हुँदै आएको छ। गत आर्थिक वर्ष (०८१/८२) मा मात्रै १ अर्ब १४ करोड ८७ हजार मूल्य बराबरका १६ लाख ९४ हजार क्युबिक मिटर प्लाइउड भारत पठाइएको कृष्णनगर भन्सार कार्यालयले जनाएको छ।

अघिल्लो आव ०८०/८१ मा १ अर्ब ४८ करोड ४५ लाख बराबरको १५ लाख ८६ क्युबिक मिटर प्लाइउड निर्यात भएको थियो। यस अवधिमा परिमाण बढे पनि मूल्यमा केही कमी आएको छ।

प्लाइउडसँगै गत आवमा ७५ करोड १ लाख बराबरको ३७७ टन सिमेन्ट, २२ करोड ५४ लाख बराबरको १,५५७ टन खोटो रोजिन, १३ करोड ९८ लाख बराबरको २५,०९० टन क्लिंकर, र ५ करोड २३ लाख बराबरको २,७४,००० लिटर तारपिन तेल पनि भारत पठाइएको छ।

वन पैदावार व्यवसायी महासंघ लुम्बिनी प्रदेश अध्यक्ष रुकबहादुर भुसालका अनुसार, कुनै समय भारतबाट आयात हुने प्लाइउड अहिले नेपालमै उत्पादन भई भारततिर निर्यात हुन थालेको छ। “काठमा आधारित वस्तुको माग भारतमा बढ्दो थियो, अहिले नेपाली प्लाइउडले विदेशी मुद्रा आर्जन गरिरहेको छ,” उनले भने।

प्लाइउड मुख्यत: फर्निचर, कोठा विभाजन, सजावटका सामग्री र झ्यालढोका बनाउन प्रयोग हुने गर्दछ। यो कुकाठ, उत्तिस, कदम, आँपजस्ता छिटो बढ्ने नरम काठबाट तयार पारिन्छ।

कृष्णनगर भन्सार कार्यालयका प्रमुख फणीन्द्र खतिवडाका अनुसार, दुई वर्षयता प्लाइउड निर्यातको परिमाण बर्सेनि १ अर्बभन्दा बढी पुगेको छ र यसले नेपालको अर्थतन्त्रमा सकारात्मक टेवा पुर्‍याएको छ।

यस नाकाबाट बियर उद्योगका लागि जौ (माल्ट) र बोतलको आयात पनि उल्लेख्य रहेको छ। गत दुई वर्षमा माल्टको १ अर्ब ९७ करोडभन्दा बढी र बोतलको १ अर्ब ८७ करोड बराबरको आयात भएको छ।

कृष्णनगर नाकामा भन्सार प्रक्रिया छिटो हुने, सडक सञ्जाल सहज हुनु र भारतको राष्ट्रिय रेल नेटवर्कसँग सीधा जोडिएको हुनाले यो नाका आयात–निर्यातको महत्त्वपूर्ण व्यापारिक हब बन्दै गएको छ।

Leave a comment